ताइवानको राष्ट्रपतिमा सा इङ वेन दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्। दुई पटक ताइवानको राष्ट्रपति हुने उनी पहिलो महिला हुन्।
शनिबार भएको मतदानमा ताइवान स्वतन्त्र मुलुक हुनुपर्छ भन्ने वेनले ५७ प्रतिशत अर्थात् ८२ लाख मत पाएकी छन्। उनका प्रतिष्पर्धी उम्मेदवार हान किओ-यूले ३९ प्रतिशत मत पाए। पराजित यू बेइजिङसँग निकट सम्बन्ध भएका व्यक्ति हुन्।
चीनले ताइवानलाई आफ्नै भू-भाग भएको दाबी गर्दै आएको छ। यसपालिको चुनाव ताइवानी नागरिकले बेइजिङलाई हेर्ने दृष्टिकोणबारेको जनमत संग्रहजस्तो मानिएको थियो।
यो चुनावमा संस्थापनविरोधी वेन भारी मतसहित विजय भएपछि बेइजिङलाई धक्का लागेको विश्लेषकहरूले बताएका छन्। वेन राष्ट्रपतिमा दोहोरिएसँगै चीन-ताइवान-अमेरिका सम्बन्धमा पनि जटिलता थपिने उनीहरूको धारणा छ।
वेनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले संसदमा पनि बहुमत पाएको छ। चुनाव जितेपछि वेनले चीनलाई बहिष्कार गर्नुका साथै आफ्नो टापु फिर्ता लिने बताइन्।
‘ताइवानले हाम्रो स्वतन्त्र प्रजातान्त्रिक जीवन शैलीलाई कदर र माया गरेको विश्वलाई देखाउँदैछ,’ जीतपछि उनले भनिन्।
चीनले सन् १९४९मा गृहयुद्ध अन्त्य भएदेखि नै ताइवानमाथि दाबी गर्दै आएको छ। एक चीन नीतिअन्तर्गत ताइवान पनि चीनमा गाभिन पर्ने उसको तर्क छ।
वेन राष्ट्रपतिमा फेरि निर्वाचित भए पनि आफूले दाबी नछोड्ने चीनले बताएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति चुनिने कुरा ताइवानको आन्तरिक मामिला भएको बताएको छ।
‘ताइवानभित्र के परिवर्तन हुन्छ भन्ने कुराको खासै केही अर्थ छैन। आधारभूत तथ्य के हो भने विश्वमा एउटामात्र चीन छ र ताइवान त्यही चीनभित्र पर्छ भन्ने कुरा कहिल्यै परिवर्तन हुँदैन,’ विज्ञप्तिमा भनिएको छ।




