पोखरा महागनरपालिका वडा नं. २८ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो ।
पोखरा महानगरपालिकाकी कार्यबाहक प्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले शुक्रबार केन्द्रको उद्घाटन गरिन् ।
कार्यक्रममा उपप्रमुख गुरुङले स्थानीय तहमै विवाद समाधान गर्दा पैसा र समयको बचत हुने भन्दैै विवाद समाधानको उत्तम विकल्प मेलमिलाप भएको बताइन् ।
सामान्य विवादमा सिधैं अदालत पुग्दा पैसा र समय दुवै खर्च हुने मात्रै नभएर सामाजिक रुपमा बदलाको भावना उत्पन्न हुने अवस्था आउने भन्दै उनले मेलमिलापमार्फत दुवै जनाले जित्ने अवस्थाले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
उनले महानगरले महिलालाई निःशुल्क कानुनी परामर्शको व्यवस्था गरेको समेत बताइन् । प्रमुख गुरुङले महिलाहरूलाई आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बनाउन उपप्रमुखसंग महिला कार्यक्रम ल्याएको जानकारी दिइन् ।
न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराए ।

उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउँदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम, कर्तब्य र अधिकार बारे जानकारी गराए ।
पोखरा–२८ का अध्यक्ष निर्मल दियालीले मेलमिलाप केन्द्र स्थापनाले विवाद समाधानमा सहज हुने बताए । उनले आफ्नै वडामा बसेर विवाद समाधान गर्दा समाजिक सद्भाव कायम हुने विश्वास ब्यक्त गरे ।
वडाध्यक्ष दियालीको अध्यक्षता भएको कार्यक्रममा नेकपाका वडध्यक्ष अध्यक्ष भोलनाथ त्रिपाठी, मेलमिलापकर्ता रामकृष्ण त्रिपाठी, महिला अधिकारकर्मी विष्णुमाया पौडेल, महानगरका कानुन अधिकृत राममणि अधिकारी लगायतले मेलमिलापमार्फत विवाद समाधान भए समाजमा सद्भाव कायम हुने बताएका थिए ।
न्यायिक समितिले हालसम्म महागनरका ३३ मध्य १३ वटामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । महानगरमा १ सय ७४ जना मेलमिलापकर्ता सुचिकृत भएका छन् ।




