पोखरा आउँदै गरेको बस तनहूँमा दुर्घटना, २ को मृत्यु, १६ जना घाइते

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो तनहुँमा दुर्घटना भएको छ ।

तनहूँको घिरिङ गाउँपालिका–३, मानपुर नजिक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।

ग १ ख ६१७५ नम्बरको बस दुर्घटना भएको छ । दुर्घटनामा तनहुँकै घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापा र घिरिङ–३ की ननीमाया गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । थापाको घटनास्थलमै र गुरुङको उपचारको क्रममा ज्यान गएको उनले बताए ।

दुर्घटनामा घाइते भएकाको भिमादका स्वास्थ्य संस्था र पोखराको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लिलाराज लामिछानेले दिए । हिलाम्मे सडकमा बस चिप्लिएर दुर्घटना भएको र बस सडकबाट झण्डै ३५ मिटर तल खसेको उनले बताए ।