कोमागाने शहरका विद्यार्थीलाई स्वागत

पोखरा भ्रमणमा आएको जापानको कोमागाने शहरका विद्यार्थीको टोलीलाई पोखरामा स्वागत गरिएको छ ।

कोमागाने शहरको एजुकेशन बोर्डका अध्यक्षको नेतृत्वमा आएको टोलीलाई पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले महागनरमा स्वागत गरेकी हुन् । टोलीमा १० जना विद्यार्थी र शिक्षकहरु रहेका छन् ।

महानगरकी कार्यबाहक प्रमुख गुरुङले पोखराका प्राकृतिक स्थलको चित्र मायाको चिनोको रुपमा प्रदान गरिन् । उपमेयर गुरुङले २ सहरका विद्यार्थीको भ्रमणले कोमागाने सहरसंगको सम्बन्धलाई थप मजबुद बनाएको बताइन् ।

उनले २ सहर वीचको सम्वन्धलाई प्रगाढ बनाउन शिक्षा, स्वास्थ्य, खेलकुद र सांस्कृतिक क्षेत्रमा सहयोग आदान प्रदान भैरहेको बताइन् ।

उपमेयर गुरुङले जापानी विद्यार्थी पोखरामा आएर यहाँको बारेमा अध्ययन गर्दा सम्वन्ध बलियो र सुदृढ भएको बताइन् ।

उनले पोखरा पर्यटकीय सहर भएकाले जापानी विद्यार्थीहरुको आगमनले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गरिन् ।

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले २ देशवीचको नागरीक वीचको सम्वन्धलाई थप बलियो बनाउन विद्यार्थीहरुको भ्रमणले भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा जापानको कोमागाने शहरका एजुकेशन बोर्डका अध्यक्ष तोसियोले कोमागाने र पोखराको सम्वन्धलाई दिगो बनाउँदै यहाँको बारेमा जानकारी लिन विद्याथीहरु आएको बताए ।

उनले विद्यार्थीले पोखराको बारेमा अध्ययन गर्ने स्पष्ट पारे । कोमागाने पोखराबीच जापानी विद्यार्थीको भ्रमणले सम्वन्धलाई अझै प्रगाढ बनाउने विश्वास उनले ब्यक्त गरे ।

भ्रमणले २ शहरको सांस्कृतिक र शैक्षिक विकास बारे अनुभब आदान प्रदानमा सहयोग पुग्ने बताए ।

उनले कोमागानेका विद्यार्थी मात्रै नभएर यहाँका विद्यार्थी पनि जाने अवस्था भए विकास, प्रविधि र शिक्षाका बारेमा सिक्ने अवर मिल्ने बताए ।

पोखरा कोमागाने नागरिक मैत्री एशोसिएसनका अध्यक्ष शारदा मोहन काफलेले जापानबाट आएका विद्यार्थीलाई होमस्टेमा राखिने बताए ।

उनीहरूलाई यहाँको मौलिक अवस्थाको जानकारी गराउने उद्देश्यले घरघरमा राख्ने ब्यवस्था गरिएको बताए ।

कार्यक्रममा पोखरा कोमागाने नागरिकमैत्री एसोसियसनका सचिव महेन्द्र गोदारले कार्यक्रम सञ्चालन गरेका थिए ।

पोखरा र कोमागाने सहरवीच सन् २००१ मा भगिनी सम्वन्ध स्थापना भएको थियो ।

कोमागाने सहर र पोखरा सम्वन्धलाई दिगो बनाउने उद्देश्यले पोखरा १६ बाटुलेचौरमा मातृशिशु मिलेरी अस्पालत निर्माण समेत भएको छ । कोमागानेले अस्पतालका लागि करिव ७ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ ।