ताजा समाचार

पौष १८ गते २०७६

राइनासको मजुवामा आधुनिक बाख्रा फार्म सञ्चालनमा

लमजुङ जिल्लाको राईनास नगरपालिका वडा नं. २ मजुवामा आधुनिक बाख्रा फार्म सञ्चालनमा आएको छ ।

कृषिमा आत्मर्निभर बनाउने सरकारले घोषणा गरिरहेको अवस्थामा युवाहरू ब्यवसायिक कृषिमा प्रवेश गर्न थालेका हुन् ।

लामो समय विदेशमा बिताएका प्रेम अम्गाईले १ सय वटा बाख्रा अट्ने आधुनिक खोर निर्माण गरि ब्यवसाय शुरु गरेका हुन् । अम्गाई फार्म दर्ता गरी उनले उन्नत जातको बाख्रापालन गर्न लागेका हुन् । उनले बोयर लगायतका बाख्रा पालन शुरु गरेका छन् ।

वाख्रा फार्मको उद्घाटन तथा निरीक्षण गर्दै गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडीले टारमा रहेका ठूला तथा फराकिलो जमिन बाँझो रहेकोले अब पोषिलो घाँस रोपेर व्यवसायमा लाग्नुपर्ने बताए ।

गाऊँमा युवाहरूले सम्भावना नदेखेर विदेशिने अवस्था अब नरहेकोले भन्दै उनले ब्यवसायिक कृषि गर्न सबैले उत्प्रेरित गर्न आवश्यक रहेको बताए ।

विकासका लागि आवश्यक न्यूनतम संरचना निर्माणका कार्य धमाधम भैरहेकोले अब त्यसलाई आर्थिक उपार्जनमा प्रयोग गर्नुपर्नेमा सांसद दवाडीले जोड दिए ।

उक्त अवसरमा वरिष्ठ पशु चिकित्सक डा. लक्ष्मण ढकालले पशुलाई अन्न भन्दा पोषिलो घाँस खुवाउन आग्रह गरे ।

अहिले घाँस भन्दा पनि झार खुवाएर पुशपालन भैरहेको भन्दै उनले अब उन्नत घाँस रोप्न पनि आग्रह गरे ।

घाँस पोषिलो भएन भने पशुले आवश्यक फाइदा नदिने भएकाले यो पेशामा आउन भन्दा पहिला प्रशस्त घाँसको ब्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए ।

राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले नगरपालिकाले यो बर्ष टनेल खेतीका लागि किसानलाई अनुदान दिइरहेको भन्दै १ घर १ टनेल र्निमाण गर्ने योजनामा आफू रहेको जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत रामचन्द्र अधिकारी, वडा नं २ का अध्यक्ष रामचन्द्र अधिकारी र वडा नं ३ का अध्यक्ष स्वतन्त्र हमालले पनि कार्यक्रममा बोलेका थिए ।

व्यवसायी प्रेम अम्गाईले बर्षमा कम्तिमा १ सय वटा खसीबोका उत्पादन गर्ने लक्ष्य रहेको बताए ।