विमानस्थल निर्माण कार्य ५४ प्रतिशत पूरा

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य जारी छ । विमानस्थल निर्माण कार्य हालसम्म ५४ प्रतिशत सम्पन्न भएको छ ।

आगामी २०२१ जुलाईसम्म विमानस्थल निर्माण कार्य सक्ने लक्ष्य छ । यस बीचमा कहिंकतैबाट अवरोध नभए २०२० को अन्त्यसम्ममा निर्माण सम्पन्न हुने निर्माण कम्पनीको दावी छ ।

चाइनाको सिएमसी कम्पनीले निर्माणको जिम्मेवारी पाएको विमानस्थलको सम्झौता २०१७ जुलाई ११ मा भएको थियो भने निर्माण कार्य २०१७ नोभेम्वर ११ बाट शुरु भएको थियो ।

आयोजना निर्माण शुरु भएको छोटो समयमै उल्लेख्य काम भएको विमानस्थलमा सन् २०२० को अन्त्यसम्ममा सबै काम सम्पन्न गरी २०२१ को जुलाईसम्ममा अन्तर्राष्ट्रिय जहाज पोखरामा ल्याण्ड गर्ने लक्ष्य निर्माण कम्पनीको छ ।

अहिलेसम्म विमानस्थलमा जहाज पार्किङ, धावनमार्ग (रनवे), ट्याक्सी वे निमार्ण कार्य पूर्णरुपमा सकिएको र टर्मिनल भवन, एटीसी टावर, कार्गो भवन, ह्याङ्गर, फायर फाइटिङ लगायतका भवनहरू निर्माणको अवस्थामा रहेको विमानस्थलका इन्जिनियर मीनराज ओझा बताउँछन् ।

२ हजार ५ सय मिटर लामो र ४५ मिटर चौडाई रहेको धावनमार्ग नेपालकै पृथक शैलीको धावनमार्ग हो । विमानस्थलमा जुनसुकै क्षमताका वाइडवढी जहाज अवतरण गर्न सकिने भए पनि यहाँको भौगोलिक धरातलका कारणले बोइङ ७.७ र एयर बस ३२० क्षमताका जहाजमात्र ल्याण्ड गर्न सकिने ओझा बताउँछन् ।

३ हजार ७ सय रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलका लागि अझै केही जग्गा अपुग भएकाले दक्षिण र पश्चिम क्षेत्रमा आइएलएसका लागि १ सय ४ रोपनी जग्गा विमानस्थलले अधिग्रहण गर्ने तयारी छ ।

यति जग्गा भएपछि २०२१ को जुलाईमा विमानस्थल सञ्चालन गर्न कुनै समस्या नहुने तर भविष्यमा यतिमात्र जग्गाले नपुग्ने र थप जग्गा आवश्यक पर्न सक्ने आयोजना प्रमुख ई. विनेश मुनँकर्मी बताउँछन् ।