‘विपि जत्तिको दूरदर्शी नेता मुलुकले अब पाउँदैन’

नेपाली कांग्रेस कास्कीले ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।

पोखरा चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा प्रवचन गरी दिवस मनाइएको हो । कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो ।

त्यस अवसरमा गण्डकी प्रदेशसभा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले जनता सरकारको गतिविधिका कारण वाक्क भएको बताए ।

उनले त्यो बेलाको राष्ट्रिय मेलमिलाप अहिले पनि उत्तिकै आवश्यक भएको भन्दै राष्ट्रिय मुद्धामा सबै दलहरू एकतावद्ध हुनुको विकल्प नभएको बताए ।

साथै उनले कम्युनिष्ट पार्टीले २ तिहाइको दम्भमा मेलमिलाप र राष्ट्रिय एकता भत्काउने काम गरिरहेको आरोप लगाउँदै नेता नेपालीले विपि कोइराला जत्तिको दूरदर्शी नेता मुलुकले कहिल्यै पाउन नसकेको स्पष्ट पारे ।

‘त्यो बेला जनताले कम्युनिष्टको ललीपपमा लोभिएर २ तिहाई दिएउँदा अहिले अभिाशाप भएको छ’, उनले भने ।

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले कांग्रेसको आलोचना गर्नेहरूले पनि वीपीको खुलेर प्रशंसा गर्ने गरेको उल्लेख गरे ।

पूर्वमन्त्री एवं पूर्व पार्टी सभापति यज्ञबहादुर थापाले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने समय आएको बताए ।

त्यसअवसरमा गण्डकी प्रदेशसभा सदस्य विन्दु थापा, कांग्रेस क्षेत्र ंनं २ का क्षेत्रीय सभापति माधव बास्तोला ‘मधु’, नेपाल महिला संघ कास्कीका अध्यक्ष कोपिला रानाभाट, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर लगायतले बोलेका थिए ।

नेपाली कांग्रेस कास्कीका कार्यबाहक सभापति आइबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रम सचिव देवेन्द्र रानाभाटले सञ्चालन गरेका थिए ।