गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तमु ल्होछार पर्वलाई राष्ट्रिय पर्वकोरुपमा मनाउनुपर्नेमा जोड दिएका छन् । तमु समुदायलाई राज्यले सधैं सम्मान दिएकाले तमुहरूको महान पर्वलाई पनि सम्मानस्वरुप राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताए ।
पोखराको लेखनाथमा आयोजित च्यु ल्होछार (मुसा वर्ग) कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशले यस अवसरमा सधैं बिदा दिने स्पष्ट पारे । उनले भने, ‘यो पर्व गण्डकी प्रदेशमा मात्र होइन देशव्यापीरुपमा मनाउनुपर्छ ।’
तमु ल्होछारलाई राष्ट्रिय पर्वको रुप दिन आफूले प्रयत्न गरिरहेको र अझै पनि गर्ने उनले प्रतिवद्धता जनाए । ‘पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा होस् या मुलुकको परिवर्तनमा होस् गुरुङ समुदायको भूमिका महत्वपूर्ण र सह्रानीय छन्’, इतिहास कोट्याउँदै उनले भने, ‘नेपाललाई व्रिटिस कलोनीबाट बचाउने पनि गुरुङहरू नै थिए ।’
पहिचानको मुद्धा चर्कोरुपमा उठिरहेका बेला तमुहरूले ल्होछारमा बिदा दिनुपर्छ भनेर लामो आन्दोलन गरेको स्मरण गर्दै मुख्यमन्त्री गुरुङले अझै पनि आन्दोलन नसकिएको स्पष्ट पारे । ‘भरसक सल्लाहबाट नभए आन्दोलनबाटै भए पनि तमु ल्होछारलाई राष्ट्रिय पर्व बनाउनुपर्छ’, उनले भने ।
कार्यक्रम सगरमाथा टेलिभिजनले आयोजना गरेको हो । कार्यक्रममा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले ल्होछार पर्वलाई थप दरिलो बनाउन आवश्यक रहेको बताए । उनले सबै जातजाति र भाषाभाषीसंग हातेमालो गर्दै यस पर्वलाई राष्ट्रिय पर्व बनाउनुपर्ने खाँचो औंल्याए ।
टेलिभिजनका समाचार संयोजक जीवराम भण्डारीले अन्य समुदायको भन्दा तमु समुदायको पहिचान पृथक रहेको भन्दै यसको संरक्षणका लागि राज्यले ध्यान दिनुपर्ने बताए । उक्त कार्यक्रमको सञ्चालन टेलिभिजनका व्यूरो प्रमुख सुवास पौडेलले गरेका थिए ।




