‘गैर-व्यवसायिक काम गर्ने प्रहरीलाई संगठनमा रहने हक छैन’

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले यहि पौष १३ गते गोरखा जिल्लाको भिमसेन थापा गाँउपालिका-८ बोर्लाङ स्थित प्रहरी चौकी बोर्लाङको नव-निर्मित प्रहरी भवनको शिलालेख अनावरण तथा प्रवेशद्वारमा रिबन काटी उद्‌घाटन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले प्रहरीले लगाएको निलो बर्दी प्रहरी पोशाक मात्रै नभई उक्त बर्दीमा आम नागरिकको आस्था, विश्वास र भरोसा साथै राष्ट्रको प्रतिष्ठा समेत जोडिएकाले बर्दी लगाएर गैर व्यवसायिक गतिविधि गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई संगठनमा रहिरहने हक नरहने कुरा बताएका छन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै उनले ईमान्दार, सक्षम एवं कर्तव्यनिष्ठ र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीहरुको कार्य सम्पादनबाट मात्रै नेपाल प्रहरी संगठनले अंगिकार गरेको रणनीति तथा योजना कार्यन्वयन हुन सक्ने बताउँदै अब नेपाल प्रहरी समाज परिवर्तनको सम्वाहकको रुपमा समेत स्थापित भैसकेको कुरा बताए ।

सोही अवसरमा नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय(प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनमा भिमसेन थापा गाउँपालिकाले सहभागिता, सहकार्य र साझेदारीको रुपमा पुर्याणएको योगदानको कदर गर्दै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट प्रदान गरिएको प्रशंसा पत्र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घिमिरेले भिमसेन थापा गाउँपालिकाका प्रमुख ईश्वरी पाण्डेलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष भिमसेन गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले स्थानीय तह समाज परिवर्तनका लागि प्रहरीसंग सहकार्य गर्दै अगाडी बढ्न दृढ रहेको बताए।

२०७२ सालको विनाशकारी महाभुकम्प पछिको क्षति ग्रस्त नेपाल प्रहरीका भौतिक संरचनाहरुको पूनस्निर्माण गर्ने क्रममा नेपाल सरकार र राष्ट्रिय पूनस्निर्माण प्राधिकरण कोष बिच सम्झौता भई उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

भवन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका टिएसटि प्रमुख प्रहरी निरीक्षक निरञ्जन कुमारले आरसिसि फ्रेम स्ट्रकचरमा निर्माण सम्पन्न भएको उक्त भवनमा कार्यालय, व्यारेक र मेष प्रयोजनका लागि आवश्यकता अनुसारको कोठाको व्यवस्था गरीएको बताए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु तथा प्रतिनिधि, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की, स्थानिय भद्रभलाद्मि, पत्रकार लगायत आम नागरिकको उपस्थिति रहेको थियो ।