खेलको माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन : मन्त्री विक

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ठूलो सघाउ पुगेको बताएका छन् ।

कास्कीको अन्नपूर्ण गाँउपालिका–११, छोम्रोङमा सञ्चालित १८औं ल्होसार मेला–२०७६ को समापनका अवसरमा उनले खेलकुदका माध्यमबाट देशको अर्थत्रन्त्रमा टेवा पुर्याउन साहसिक तथा पर्यटकीय खेल गन्तब्यको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण र उच्व धरातलीय खेलकुद प्रशिक्षण केन्द्र स्थापनाको कार्य शुरु भएको बताए ।

उनले सेञ्चुरी यूवा क्लबले निर्माण गर्न लागेको टेनिस कोर्टका लागि रु १५ लाख बजेट विनियोजन गरिएको समेत जानकारी दिए ।

सेञ्चुरी यूवा क्लब छोम्रोङ, घान्द्रुकको आयोजनामा सञ्चालित मेला पुस ५ बाट सुरु भई ९ गते बुधवार समापन भएको हो ।

५ दिनसम्म सञ्चालन भएको मेलामा खुला पुरुष तथा बास्केटबल प्रतियोगिता सम्पन्न भएका छन् । खुला पुरुष भलिबल प्रतियोगितातर्फ अन्नपूर्ण यूथ क्लब घान्द्रुक विजयी भएको छ ।

बुधबार भएको फाइनल खेलमा अन्नपूर्णले चण्डी युवा क्लब दाङसिङलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो । अन्नपूर्णले २५–२२, १७–२५, २५–२१ र २५–२० को सेटमा चण्डीलार्ई पाखा लगायो ।

पुरुष भलिबलमा अन्नपूर्णका आकाश घमाल उत्कृष्ट खेलाडी घोषित भए । विजेताले ८० हजार रुपैया र उपविजेताले ५० हजार रुपैयासहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा कास्की र पर्वतका १२ टिमको सहभागिता रहेको थियो ।

खुुला पुरुष बास्केटबल प्रतियोगितामा ताङतिङ यूवा क्लब विजयी भएको छ । ताङतिङले उल्लेरी भूमि युवा क्लबलाई बुधवार नै सम्पन्न भएको फाइनल खेलमा पराजित गरेको हो । निर्धारित समयमा ताङतिङले ६८ स्कोर जोड्दा उल्लेरी भुमीले ४६ मात्रै बनाउन सक्यो ।

प्रतियोगितामा ताङतिङका प्रविण उत्कृष्ट खेलाडी घोषित भए भने हाई स्कोरमा उल्लेरीका मनोज सफल भए । विजेताले ८० हजार रुपैया र उपविजेताले ५० हजार रुपैयासहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा कास्की र पर्वत १० टिम सहभागी थिए ।

क्लबका अध्यक्ष मिकास गुरुङको अध्यक्षतामा भएको समापन समारोहमा विजयी टिमलाई प्रमुख अतिथि यूवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा, अन्नपूर्ण गाँउपालिका कास्की, वडा नं. ११ का वडाध्यक्ष हिम गुरुङ क्लवका अध्यक्ष मिकाश गुरुङ, सल्लाहाकार दिलिप गुरुङ, मेला संयोजक राजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरिएको थियो ।