सडक महोत्सव मर्यादित बनाउन प्रहरी प्रमुख घिमिरेको निर्देशन

पर्यटकिय नगरी पोखराको लेकसाईडमा अङग्रेजी नयाँ वर्षलाई लक्षित गरि यही पौष १२ गतेबाट सुरु हुन गईरहेको २१औं पोखरा सडक महोत्सवलाई शान्तिपूर्ण, सभ्य तथा मर्यादित वातावरणमा सम्पन्न गराउन गण्डकी प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जिल्ला स्थित कार्यरत प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्।

प्रदेश प्रहरी कार्यालय पोखरामा यहि पौष १०गते आयोजित सुरक्षा योजना छलफल कार्यक्रम अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीले तयार पारेको महोत्सव विशेष सुरक्षा योजनाको अध्ययन पश्चात उनले यस्तो निर्देशन दिएका हुन् ।

साथै पर्यटन वर्ष सन् 2020 लाई समेत मध्यनजर गर्दै आन्तरिक तथा बाह्‌य पर्यटकहरु ठुलो मात्रामा पोखरामा आउने र सोहि महोत्सवलाई लक्षित गरी अन्य अवान्छित तथा अपराधिक क्रियाकलाप समेत हुन सक्ने भएकाले यस्ता गतिविधिहरुलाई रोक्न पर्यााप्त मात्रामा प्रहरी परिचालन गर्न समेत उनले निर्देशन दिएका छन् ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक राजकुमार के।सी।ले महोत्सव सुरक्षा व्यवस्था, प्रहरी परिचालन योजना, ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्थापन,कार्यक्रम अवधीभरको सुरक्षा प्रवन्ध लगायतका विषय समेटिएको पावरप्वाईन्ट प्रस्तुत गरेका थिए।

कार्यक्रममा संघिय इकाई प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी लगायतका पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।