१५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप माघ १६ गतेबाट सुरु हुने भएको छ ।
आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप माघ १६ देखि २८ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आयोजना हुने जानकारी गराएको हो ।
साथै आयोजकले प्रतियोगिताको यो संस्करणमा पुरस्कार रकममा वृद्धि गरिएको जानकारी पनि दिएको छ ।
यो संस्करणको विजेताले ४ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो हुनेले २ लाख ५ हजार, तेस्रोले १ लाख ५ हजार, चौथोले ७५ हजार, पाँचौँले ५५ हजार, छैठौँले ४५ हजार र सातौँले ३५ हजार रुपैयाँ हात पार्नेछ। यसपटक ४ स्कुटी र २ थान मोटरसाइकल वितरण गरिने आयोजकले जनाएको छ। गत वर्षको विजेताले ३ लाख ५० हजार रुपैयाँ पाएको थियो।
प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स मावि पोखरा, बुलबुले रारा कर्णाली क्लब, न्यु डायमन्ड एकेडेमी, पारामाउन्ट स्कुल, थ्रीस्टार एकेडेमी, चुली युवा क्लब सुर्खेत, चितवन टाइग्रेस, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लब गरी १२ टोली सहभागी हुनेछन् । प्रतियोगितालाई सानमिगेल बियरले मुख्य प्रायोजन तथा युएम स्कुटीले सहप्रायोजन गरेको छ।
भाग्यमानी दर्शकले एक थान मोटरसाइकल पाउनेछ। ग्रेट अचिमेन्ट अवार्डबाट एक खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्। उदीयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि इयर सिरिज र उत्कृष्ट खेलाडीले समान १ थान स्कुटी हात पार्नेछन्।
१४औं संस्करण सकिँदा एपीएफले ६ पटक,पोखराको ज्ञानुबाबाले ५ पटक, नेपाल पुलिस क्लब र रिड मोडलले एक–एक पटक उपाधि जितेका छन्।




