१३ औं सागबाट हौसिएको राष्ट्रिय खेलकूद परिषद्ले १४औं सागको चर्चा गर्न थालेका छन् । योसंगै १४औं साग पनि नेपालमै हुने संकेत देखिएको छ ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाललाई दक्षिण एशियाली राष्ट्रमा खेलकूदको ‘पावरहाउस’ का रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीद्वारा आयोजित ‘१३औं हिसान कास्की स्पोर्टस मिट’ मा उनले मुलुक अहिले १४औँ सागको तयारीमा जुटिरहेको जानकारी दिए ।
हिसानका केन्द्रीय अध्यक्षसमेत रहेका सदस्यसचिव सिलवालले अब खेलाडीलाई नियमित प्रशिक्षण गर्दै उनीहरूको सम्मान र आत्मबल बढाउनेतर्फ परिषद्ले ध्यान दिने बताए ।
अब खेलकूदमार्फत नेपाल दक्षिण एशियाली राष्ट्रमा मात्रै नभई एशिया हुँदै ओलम्पिकमा समेत परिचित गराउने बताउँदै उनले पूर्वाधार विकाससँगै खेलकूदले गति लिने विश्वास व्यक्त गरे ।
पोखरालाई गण्डकी प्रदेशकै खेलकूद ‘हब’का रूपमा विकास गर्न परिषद्ले आफ्नो तयारी थालेको बताउँदै सदस्यसचिव सिलवालले तीन महिनाभित्र पोखराको मुहार नै फेर्नेगरी २० हजार क्षमताको फुटबल रंगशाला तयार गर्ने प्रतिबद्धता जनाए ।
तेह्रौँ सागलाई भव्यरूपमा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राखेप सदस्यसचिव सिलवाललाई हिसान कास्कीले सम्मानपत्र र दोसल्लाले सम्मान गरेको थियो ।




