मान्छे खाने अर्को चितुवा खोरमा पर्यो, कति छन् अझै ?

तनहुँको व्यास नगरपालिका–९ बिर्तास्थित सामुदायिक वनमा थापिएको काठको खोरमा परेर बिहीबार बिहान एउटा चितुवा नियन्त्रणमा आएको छ ।

चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको काठको खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको हो ।

उक्त पोथी चितुवा छ–सात वर्षको र ३०–३५ किलो तौल रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । बरालका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षितरूपमा चितवन स्थानान्तरण गरिने छ ।

चितुवाको आतङ्क बढेपछि यहाँका सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर बनाइएको छ । भानु नगरपालिकामा सबैभन्दा बढी चितुवा आतङ्क छ ।

भानु नगरपालिकामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ ।

भानु नगरपालिकासँग सिमाना जोडिएको व्यास नगरपालिका–९ मा पछिल्लो समय चितुवाको आतङ्क बढ्न थालेको स्थानीयवासी बताउँछन् ।

भानु नगरपालिका–१, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा पनि चितुवा नियन्त्रणका लागि काठको खोर निर्माण गरेर राखिएको छ ।

भानुका सामुदायिक वनमा काठको खोरमा परेर हालसम्म चार चितुवा नियन्त्रणमा आइसकेको छ ।

त्यस्तै केही समय अगाडि व्यास नगरपालिका–१ मुसेखोला र व्यास नगरपालिका–७ कलेस्तीमा चितुवा मृतावस्थामा फेला परेको थियो । स्थतानीयले अझै ५ वटा चितुवा जंगलमा भएको दावी गरेका छन् ।