लेखनाथ साहित्य पुरस्कार वैरागी काइँलालाई

लेखनाथ साहित्नय प्रतिष्ठानले प्रदान गर्दै आएको यसवर्षको लेखनाथ साहित्य पुरस्कार वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ ‘वैरागीकाइँला’ लाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानको हालै बसेको बैठकले वैरागी काइँलालाई सो पुरस्कारबाट सुम्मान गर्ने निर्णय गरेको हो ।

कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तिदेवी भट्टराईको परिवाजनद्वारा स्थापित पुरस्कार कविशिरोमणि लेखनाथको १३६औं जन्मजयन्तीका अवरसमा यहि पौष १५ गते कविशिरोमणिको जन्मस्थल पोखरा–२७, अर्चलेमा प्रदान गरिने लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले जानकारी दिए ।

पुरस्कारको राशि नगद रु ५० हजार, दोसल्ला र सम्मानपत्र छ । पुरस्कृत व्यक्तित्व छनोटका लागि प्रतिष्ठानले अघि प्रतिष्ठानका पूर्व अध्यक्ष डा. शुक्रराज अधिकारीको संयोजकत्वमा प्रा.डा. रविलाल अधिकारी, डा. प्रतिभा पाण्डे, रमा शर्मा र प्रतिष्ठानका सचिव कृष्ण प्रसाद पौडेल सदस्य रहेको प्रतिभा छनौट समिति गठन गरेको थियो ।

यस अघि उक्त पुरस्कारबाट सस्थागततर्फ नेपालीशिक्षा परिषद्, साहित्यकार बासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय, बालकृष्ण पोखरेल, जगमान गुरुङ र वसन्तकुमार शर्मा सम्मानित भएका थिए ।

वि.सं. १९९६ श्रावण २५ गते पाँचथर जिल्लामा जन्मिएका वैरागी काइँलाका १ दर्जनभन्दा बढी साहित्य र संस्कृतिसँग सम्बन्धित कृति प्रकाशित छन् ।

साहित्यकार वैरागीकाइँला यसअघि दर्जनौं सामाजिक÷साहित्यीक संघ संस्थाहरुबाट पुरस्कृत एवं सम्मानित भईसकेका छन् ।

आयामेली साहित्यिक आन्दोलनका सशक्त खम्बाका रुपमा परिचित साहित्यकार काइँला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति समेत भएर काम गरिसकेका छन् ।