‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक आर्थिक बहस हुने भएको छ । यही पुस १० गते बागलुङ महोत्सवको अवसरमा आयोजना हुने सो बहसमा नीति निर्माता तथा उद्योग व्यवसायी सहभागी हुनेछन् ।
जिल्लामा लगानीका सम्भावना औंल्याउन आर्थिक बहसको आयोजना गरिएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । बहसमा नेपाल उद्योण वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उद्योगपति मीनबहादुर गुरुङले मुख्य वक्ताका रूपमा भाग लिने सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिए ।
छलफलमा जिल्लाका व्यवसायी र जनप्रतिनिधिसमेतको सहभागिता रहनेछ । ‘बागलुङको सम्भावना पहिचान गर्ने र लगानी भित्र्याउने उद्देश्यले आर्थिक बहसको आयोजना गरिएको हो’, संघका अध्यक्ष युवराज राजभण्डारीले भने ।
बागलुङको आर्थिक बजारलाई चलायमान बनाउन, व्यापारको दायरा फराकिलो पार्न, राष्ट्रिय पूँजीमार्फत लगानी प्रवद्र्धन गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्नमा बहस कार्यक्रमले सघाउने विश्वास लिइएको छ ।
लगानी बहसलाई प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । बहसको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शरेचनले गर्ने भएका छन् ।
सदरमुकामस्थित बिएसआर मुभीको हलमा हुने बहस कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । शुुक्रबारदेखि शुरु हुने छैटौं बागलुङ महोत्सवको तयारी पनि अन्तिम चरणमा पुगेको संघले जनाएको छ । व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा केन्द्रित महोत्सव यही पुस २० गतेसम्म चल्नेछ ।
प्याराग्लाइडिङ, हेलिकोप्टर शयर, पुरुष तथा महिला भलिबल, लोकदोहोरी, भजन, ताराखेललगायतका प्रतियोगिता महोत्सवका आकर्षण हुन् । नेपाल भ्रमण वर्षको शुभारम्भसमेत महोत्सवस्थलबाटै गरिने आयोजकले जनाएको छ ।
‘भ्रमण वर्षको शुभारम्भ समारोहसहित जनवरी १ मा जिल्ला भित्रने पर्यटकलाई नाकाहरूमा स्वागत गर्ने कार्यक्रम छ’, संघका महासचिव नरेश कँडेलले भने । महोत्सवमा कृषि, जडीबुटी, हस्तकलालगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष राखिने भएको छ ।
बागलुङको पहिचान झल्कने कला, संस्कृति र फोटोको प्रदर्शनीसमेत आयोजना गरिएको छ । परम्परागत सांस्कृतिक झाँकी पनि महोत्सवको आकर्षणको रूपमा रहनेछन् । महोत्सवस्थलमा २ सयभन्दा बढी व्यापारिक ‘स्टल’ रहने जनाइएको छ । महोत्सव सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन हुनेछ ।






