पोखरामा यस्तो चिसो, वर्षाको सम्भावना

आज पोखरामा अत्यधिक चिसो बढेको छ । बिहानैदेखि घाम लागेको छैन । हुस्सु र कुहिरो हट्न सकेको पनि छैन ।

आज नेपालका पूर्वी भूभागमा पनि आंशिक वदली रही पश्चिम र मध्य तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म कुनै उल्लेखनिय मौसमी परिवर्तन हुने सम्भावना छैन । 

आज दिउँसो देशको पूर्वी  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै रातभर  देशको  पूर्वी र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

त्यसैगरी भोलि बिहिबार दिउँसो देशको पश्चिमि भूभाग लगायत पूर्वी  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने रातभर देशभर आंशिक बदली रहने छ ।

यो साताको शुक्रबार दिउँसो देशको पश्चिम र मध्य भुभागलगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य र बाँकी भूभागमा आंशिक बदली रहनेछ । पोखरासहित पश्चिम भेगका एक दुइ स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

सोही दिन राति भने देशभर आंशिकदेखि सामान्य वदली रहनुका साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।