पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चिनु गुरुङले बुटिक व्यवसायमा जनशक्ति अभाव रहेको बताएकी छन् ।
पोखरा–८, सुन्दरमार्गस्थित ग्लोरी फेशन होमको सातौं वार्षिकोत्सवका अवसरमा उपमहासचिव गुरुङले बुटिक व्यवसायमा आवश्यक जनशक्ति पोखरा बाहिर त्यसमा पनि अझ देश बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको बताएकी हुन् ।
स्वदेशमै जनशक्ति उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले स्वदेशी जनशक्ति उत्पादन भएको खण्डमा बुटिक व्यवसाय अघि बढाउन अझै सहज हुने स्पष्ट पारिन् ।
पछिल्लो समय बुटिक व्यवसाय फस्टाउँदै जान थालेको बताउँदै वरिष्ठ सौन्दर्यकर्मी समेत रहेकी गुरुङले उचित लगानी र सो अनुसारको बजारीकरणको आवश्यकता रहेकोमा जोड दिइन् ।
व्यवसायमैत्री वातावरण निर्माणका लागि पोखरा उद्योग वाणिज्य संघले सधैं लडिरहेको उल्लेख गर्दै उनले उद्योगी, व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायसम्म पु¥याउने कुरामा आफूहरूले अगुवाइ गर्ने खाँचो औंल्याइन् ।
बुटिक एशोसिएसन नेपाल पोखराकी अध्यक्ष सुष्मा पाण्डे थापाले बुटिक व्यवसायमा अवसरसँगै चुनौती समेत बढेको भन्दै लगानी सुरक्षा व्यवसायीका लागि मुख्य चुनौती भएको उल्लेख गरिन् ।
ग्लोरी फेशन होमकी सञ्चालिका शान्ति श्रीसले चाहेको खण्डमा व्यवसाय गर्न सकिन्छ भन्ने प्रमाणित गर्न खोजेको बताइन् ।
२ जना कर्मचारीबाट सुरु गरेको व्यवसायमा सातौं वर्ष पूरा गर्दासम्म ८ जना कर्मचारी कार्यरत रहेको उनले जानकारी दिइन् । ग्राहकको विश्वास र शुभेच्छुकको साथले आफू सफल भएको उनले स्पष्ट पारिन् ।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष विनोदप्रसाद हेजू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी ‘आस्था’ मगर, सबिता बराललगायतले बोलेका थिए ।





