सामान्य हावापानीमा हुर्केका नेपालीले विशेषगरी खाडीका मुलुकका रोजगारीका क्रममा रहँदा स्वास्थ्यका बारेमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
कामको अत्यधिक चाप, घरपरिवारबाट टाढा रहनुपर्दाको मानसिक तनाव तथा उच्च तापक्रममा काम गर्नुपर्ने हुँदा स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ ।
दिनभर चर्को गर्मीमा काम गर्ने र साँझ ‘एयर कन्डिशन’ चलाएर सुत्दा झन् जोखिम बढ्ने नेपाल स्वास्थ्य व्यवसायी संघका महासचिव जय गुरुङ बताउछन् ।
विदेशमा काम गर्ने नेपालीले खानपानमा विशेष ध्यान दिन उनी सुझाव दिन्छन् । अत्यधिक गर्मीमा काम गर्दा शरीरमा पानीको मात्रा कम हुन गई अस्वस्थ बनाउन सक्ने सम्भावना उच्च रहन्छ ।
उनले कम्तीमा पनि दैनिक ६ लिटरभन्दा बढी पानी पिउनुपर्ने बताए । काम गर्दा प्रत्येक २/२ घण्टामा केही समय विश्राम लिनु आवश्यक हुन्छ ।
‘विदेशमा काम गर्ने श्रमिकले पोषणयुक्त सन्तुलित खाना खानु अति आवश्यक छ’, महासचिव गुरुङले भने, ‘वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न आउने व्यक्तिलाई विदेशमा रहँदा आइपर्ने स्वास्थ्य समस्याका बारेमा जानकारी दिनाका साथै स्वास्थ्यसम्बन्धी विभिन्न परामर्श दिने गरेको छौँ ।’
मादक पदार्थ सेवन गरेर पनि ज्यानै गुमाउनाका साथै विभिन्न स्वास्थ्य समस्या निम्तने गरेको छ । गत वर्षमात्र मलेशियामा विषाक्त मदिरा सेवनबाट १ दर्जनभन्दा बढी नेपालीले ज्यान गुमाएका थिए ।




