ठिनी–तिलिचो सडकमा मनाङको चाँसो

समुन्द्री सतह देखि ४ हजार ९ सय १९ मिटर अग्लो उचाईमा रहेको विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तब्य तिलिचो ताल जोड्ने छोटो दुरीको ठिनी – तिलिचो सडक विस्तारप्रति मनाङले अघोषित बिरोध जनाएको छ । मनाङ स्थित ङिस्याङ गाउपालिकाले मुस्ताङ स्थित एक्याप कार्यालय जोमसोमलाई संरक्षित क्षेत्रमा अन्धाधुन्द सडक बिस्तार भईरहेकोमा बिरोध स्वरुप ध्यानआर्कषण गराएको हो ।
उपल्लो मनाङ स्थित ङिस्याङ गाउपालिकाले गत भाद्र १२ गते एक्याप जोमसोमलाई पत्र मार्फत सडक बिस्तार बारे ध्यानआर्कषण गराएको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए । ङिस्याङ गाउपालिका–९ का वडाअध्यक्ष रिन्जेन धोर्जे गुरुङको हस्ताक्षरित पत्र अनुसार मनाङको सिमाना खाङ्सार अन्तर्गत पर्ने पर्यटकीय पदमार्ग मुस्ताङको ठिनी देखि तिलिचो पैदलमार्गका लागि प्रख्यात रहेकोमा हाल सो बाटो खनेर चौडा बनाउने कार्य भईरहेको प्रति गम्भिर आपत्ती रहेको व्यवहोरा उल्लेख गरेको छ । साथै पत्रमा उक्त मुस्ताङ –तिलिचो पदमार्गकै हैषियतमा रहनु पर्ने ङिस्याङ पालिकाको मान्यता रहेकाले संरक्षितक्षेत्र नियमावली अनुसार आवश्यक पहल गर्न एक्यापलाई अनुरोध गरेको कार्यालय प्रमुख दाहालले बताए ।
यता मनाङको ङिस्याङ गाउपालिकाले पत्र मार्फत ध्यानआर्कषण गराएपछि यसबारे संम्वन्धित निकाय संग पहल गरिदिन एक्याप जोमसोमले जिसस मुस्ताङलाई पत्र पठाएको कार्यालयले जनाएको छ । जिसस मुस्ताङले तिलिचो सडक परियोजना म्याग्दी पूर्वाधार विकास कार्यालयलाई प्रक्रिया पू¥याएर सडक खन्न आग्रह गरेको थियो । जिससले पठाएको पत्रपछि पूर्वाधार विकास कार्यालय म्याग्दीको ध्यानआर्कषण भएको कार्यालयका सिनियर डिभिजन ईन्जिनीयर ओमराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार ठिनी–तिलिचो सडक बिस्तारप्रति स्थानीय सरोकारवालाले चासो व्यक्त गरेपछि प्रक्रिया पू¥याएर सडक बिस्तार गर्ने तैयारी भईरहेको उनले बताए ।
म्याग्दी पूर्वाधार विकास कार्यालयले घरपझोङ गाउपालिकाको ठिनी–तिलिचो सडक र रिङरोड सडकको वातावरण प्रभाव मुल्याङ्कन – ईआईए र प्रारम्भिक वातावरणीय परिक्षण – आईई ) मापदण्ड पूरा गर्ने प्रक्रिया अघि बढेको सिनियर डिभिजन ईन्जिनीयर ढुङ्गानाले जानकारी दिए । उनका अनुसार साविक प्रक्रियाकै आधारमा स्थानीय स्तरमा सुझाव संकलन गरी मापदण्ड पुरा गर्ने तैयारी कार्यालयको छ । यसअघि गण्डकी प्रदेशको क्रमागत बजेट मार्फत तिलिचो सडक र रिङरोेड बिस्तार गरेको थियो । गण्डकी प्रदेशले ठिनी– तिलिचो सडक बिस्तारका लागि गत बर्ष ५० लाख बिनियोजन गरेको थियो । साविक जिविस मार्फत जोमसोम –ठिनी कच्ची सडकलाई जोडेर कार्यालयले थप २ किमी सडक बिस्तार गरेको थियो । स्थानीय उपभोक्ता समिति मार्फत खनिएको बाटोको सडक ट््याक खोल्ने ,सडक चोडा र ग्याबिन लगाउन काम गरेको थियो । प्रदेश सरकार मार्फत तिलिचो सडककै लागि ६५ लाख बिनियोजन भएपनि सडक बिस्तार गर्ने काम रोकिएको कार्यालयले जानकारी दिएको छ । चालु वर्षको ४ महिना बितिसक्दा समेत सडक बिवादित बनेपछि काम रोकिएको हो भने रिङरोड सडक बिस्तारको कामसंगै कानुनी प्रक्रिया पूरा गर्दै जाने सिनियर डिभिजन ईन्जिनीयर ढुङ्गानाले उल्लेख गरे ।
मुस्ताङको ठिनी हुदै तिलिचो बेस क्याम्प सम्म सडक पहुच बिस्तार गर्ने योजना छ ।पैदल मार्गबाट हिडेर ३ दिन लाग्ने तिलिचो ताल गन्तब्यलाई दुरी छुट््याउन प्रदेश सरकारले बजेट बिनियोजन गरेको हो । तिलिचो बेस क्याम्प सम्म सडक बिस्तार भएमा ३ दिनको यात्रा एकदिन पूरा हुने जनाईएको छ । मुस्ताङ लगायत गण्डकीका ५ जिल्ला संरक्षित जिल्ला अन्तर्गत पर्ने भएपनि पूर्वाधार विकास कार्यालय म्याग्दीले कानुनी मापदण्ड पूरा गरेको थिएन । यता , छोटो दुरीको ठिनी–तिलिचो सडक बिस्तार भएपछि मनाङ हुदै तिलिचो जाने पर्यटक घट्न सक्ने कतिपयको बुझाई छ । पूर्वाधार विकास कार्यालय वातावरण प्रभाव मुल्याङ्कन प्रक्रिया पूरा गरेर तिलिचो सडक खन्ने जनाएको छ ।
फोटो क्याप्सन ः मुस्ताङको ठिनी हुदै तिलिचो ताल जोड्ने सडक ।तस्विर ःएसके थकाली ।