महिलाहरुलाई उद्यमी बनाउँदै आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी भएको बताइएको छ ।
उपप्रमुखसंग महिला कार्यक्रमको प्रभावकारीता र चालु वर्षका कार्यक्रम सञ्चालनका लागि महिला जनप्रतिनिधिसंग आयोजना गरिएको छलफलमा कार्यक्रमको सकारात्मक प्रभाव र महिलालाई उद्यमी बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीले बताए ।
पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले उपप्रमुखसंग महिला कार्यक्रम नमुना प्रोजेक्टका रुपमा अगाडि बढेको भन्दै त्यसलाई अझै प्रभावकारी बनाएर लैजाने पक्षमा महानगर रहेको बताए । उनले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने गरी कार्यक्रम आएको बताए । उनले अघिल्लो वर्षको कार्यक्रम प्रभावकारी भएकाले यस वर्ष बजेट बृद्धि गरिएको बताए ।
कार्यक्रमको उद्देश्य महिलालाई उद्यमी बनाउँदै आत्मनिर्भर बनाउने हो उनले भने, अव महानगरले अनुदान र तालिम दिने बजेट घटाएर उद्यमी बनाउने नीति लिएको बताए । उनले भने, ‘तालिम गरेर भत्ता बाँडेर रिजल्ट आउदैन्, परिश्रम गरेपछि परिणाम आउछ भन्ने हो ।’
उपप्रमुख एंव कार्यक्रमका संयोजक मञ्जुदेवी गुरुङले महिलाहरुलाई आर्यआर्जनसंग जोडेर आत्मनिर्भर बनाउने योजना अनुसार कार्यक्रम ल्याएको बताइन् । उनले महिलाहरुको कामको मूल्यांकन हुने र आर्यआर्जनसंग जोडदै उद्यमी बनाउने योजना भएको बताइन् ।
महानगरले अघिल्लो वर्ष २ करोड रुपैयाँ विनियोजन गरेको भए पनि यस वर्ष ३ करोड रुपैयाँ विनियोजन गरेको बताइन् । उपप्रमुखसंग महिला कार्यक्रममार्फत विपन्न, एकल, अपाङगता भएका र हिंसा पीडित महिलाका लागि प्राथमिकता दिएर ऋण लगानी गरेको बताइन् ।
कार्यक्रममा कार्यपालिका सदस्य राधिकाशाही योगीले महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सधै पछाडि पर्ने बताइन् । उनले उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी भएको र यसलाई व्यवस्थित गदै निरन्तता दिने बताइन् ।
कार्यक्रममा अञ्जु क्षेत्री, पार्वती कार्की, किरण गौतम, हरिमाया विक भोजकुमारी थापा लगायतले उपप्रमुखसंग महिला कार्यक्रम दिंदा महिला जनप्रतिनिधिसंगको समन्वयमा दिंदा थप प्रभावकारी हुने बताए ।
उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत पुष महिनाबाट सञ्चालन गर्ने छ । त्यसका लागि महानगरका ३३ वटै वडाबाट आउने मागलाई उपप्रमुखसंग महिला सञ्चालक समितिको बैठकले आवश्यकता र कार्यक्रमका आधारमा निर्णय गरेपछि ऋण लगानी गर्ने छ ।






