नियम विपरित शिक्षक नियुक्ति, कांग्रेसको आपत्ति

शिक्षा शाखा मादी गाउँपालिकाले नियम विपरीत काम गरेको भन्दै तत्काल सच्याउन माग गरिएको छ ।

नेपाली काँग्रेस मादी गाउँपालिका सभापति देवीजङ्ग गुरुङ, प्रमुख प्रतिपक्ष दल नेता यमबहादुर गुरुङ र नेपाल शिक्षक संघ मादी गाउँपालिका सभापति कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति प्रकाशित गरी त्यस्तो माग गरेका हुन् ।

विज्ञप्तिमा मादी गाउँपालिकामा नियम विपरीत विद्यालय निरीक्षक नियुक्त गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिकामा माध्यमिक तह स्थायी शिक्षक हुँदाहुँदै बिना विज्ञापन प्राथमिक तह स्थायी शिक्षकलाई विद्यालय निरीक्षक बनाएको भन्दै आपत्ति जनाइएको छ ।

त्यस्तै, शिक्षा आयोगबाट प्राथमिक तहमा सिफारिस भएका शिक्षकको पदस्थापना गर्दा एकै दिन नियुक्त भएका शिक्षकलाई कानून बमोजिम न्यायोचित मापदण्ड नबनाइ राजनीतिक विभेद गरी विस्थापित गरिएको उल्लेख छ ।

साथै विज्ञप्तिमा प्रअ प्रोत्साहन भत्ता इण्डिकेटरको मूल्यांकन नगरी हचुवाको भरमा वितरण गर्दा सुशासनमा प्रतिकूल प्रभाव परेकोभन्दै सच्याउन माग गरिएको छ ।