बिहीबारदेखि आर्चरी स्पर्धा, कुन कुन देश खेल्दै छन् ?

१३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ । मंगलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै सहभागी नहुने उल्लेख गरेको नेपाल आर्चरी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए ।

नेपालसहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन् । भुटानका ९ जना खेलाडी प्रतियोगितामा सहभागि हुदै छन् भने अन्य तीन देशका १६÷१६ जना खेलाडी सहभागी हुने भएका हुन् । प्रतियोगिता विहिबार बिहान करिब ८ः१५ बजे उद्घाटनपश्चात र्याङकिङ राउण्ड सुरु हुने थकालीले बताए ।

टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकका लागि प्रतिस्प्रर्धा हुने भएको छ । कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्स तर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीले प्रतिस्प्रर्धा गर्ने भएका हुन् ।

प्रतियोगितामा सहभागी खेलाडीको विश्व आर्चरी महासंघले र्याङकिङ गर्ने भएको छ । विश्व आर्चरी महासंघबाट प्रतिवन्ध (सस्पेन्स) भएको भारत १३ औं सागमा सहभागी नहुने भएको छ । अन्तिम समयमा आएर दबाबका बाबजुत दर्ता भएको भारतको आर्चरीको टिमलाई सागमा सहभागी नगराउने साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले निर्णय गरेको हो । राखेपसंग आर्चरी प्रशिक्षण मैदानका लागि रकम माग गर्दा समेत नदिएकाले हाल आफुहरुलाई प्रशिक्षण मैदानको अभावमा खेल स्थलबाटै प्रशिक्षण हुने प्रबन्ध गरेको आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए ।

पोखराको क्रिकेट मैदानमा आर्चरीको प्रशिक्षण हुने तयारी गरिरहेको अबस्थामा महिला क्रिकेट भएसंगै आर्चरीलाई प्रशिक्षणका लागि ठाउँ अभाव भएको हो । पोखरामा आर्चरी यही मंसिर २३ गतेसम्म हुने खेलाडी योगेन्द्र शेरचनले बताए । २२ र २३ गते पदकका लागि फाइनल खेल हुन्छ भने अन्य दिनमा विभिन्न चरणमा प्रतिष्प्रर्धा हुने छन् ।