अधिकृत विक्रेता संघ (ड्याप) पोखराको चुनावी सरगर्मी बढेको छ । संघको अधिवेशन आगामी पुस ५ गते शनिबार हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले महत्वका साथ हेरिएको छ ।
ड्यापलाई पोखरा उद्योग वाणिज्य संघको वस्तुगत संघहरूमध्ये उत्कृष्ट संस्थाको रुपमा हेर्ने गरिएको छ ।
ड्यापले पोउवासंघको प्रत्येक गतिविधिमा आफ्नो उल्लेख्य उपस्थिति जनाउँदै आएको पनि छ । साथै ड्यापका अध्यक्ष हरिराज पन्त पोउवासंघको कार्यसमिति सदस्यमात्रै होइन, वस्तुगत संघ समन्वय समितिका संयोजक समेत हुन ।
अधिवेशनको तयारीसंगै संघको आगामी नेतृत्वबारे बहस र चर्चा समेत तीव्र भएको छ । विशेषगरि संघको आगामी नेतृत्व कस्ले गर्ने ? भन्ने विषयमा चर्चा बढी छ । तर नेतृत्वका लागि आकांक्षीहरू खुल्न सकेका छैनन् ।
संघका एक पदाधिकारीका अनुसार नेतृत्वमा वर्तमान अध्यक्ष पन्तले नै दोहोर्याउने सम्भावना बलियो छ । अध्यक्ष पन्त नेपाल वितरक महासंघका महासचिव समेत हुन् । संघका अधिकांश अग्रजहरू पनि पन्तले अझै एक कार्यकाल नेतृत्व गरेमा राम्रो हुने पक्षमा देखिएका छन् ।
संघका एक पूर्व अध्यक्ष भन्छन्, ‘संघमा हरिजीको भूमिका राम्रो देखिएको छ । उहाँले अझै एक कार्यकाल नेतृत्व गरिदिएमा राम्रो हुन्छ । संघमा उहाँको योगदान लामो पनि छ राम्रो पनि छ ।’
अध्यक्ष पन्तले अरु साथीहरूलाई नै अघि बढाउन पाए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको बताए । साथै उनले साथीहरूबाट पुनः नेतृत्व गर्नैपर्छ भन्ने अवस्था आउछ भने त्यसका लागि आफू तयार रहेको स्पष्ट पारे ।
ड्यापले अधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । जसमा स्वागत, सत्कार, निमन्त्रणा पठाउन वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ, स्टेज, हल, सदस्यता प्रमाणपत्र व्यवस्थापनका लागि सदस्य दिलीप श्रेष्ठ संयोजक रहेका छन्छ ।
यसैगरी खाना व्यवस्थापनका लागि सदस्य राजेन्द्र श्रेष्ठ, मायाको चिनो तथा ब्याज व्यवस्थापनमा उपाध्यक्ष होम राई, सम्मान कार्यक्रमका लागि महासचिव मनोज श्रेष्ठ, निर्वाचन आयुक्तमा वरिष्ठ सल्लाहकार मञ्जुलमान श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । यी सबै समितिले आफ्ना जिम्मेवारी पूरा गर्दै अधिवेशनको तयारी अन्तिम चरणमा पुर्याएका छन् ।





