सगरमाथा टेलिभिजनको प्रादेशिक प्रशारण केन्द्र पोखरामा

सगरमाथा टेलिभिजनको प्रादेशिक प्रशारण केन्द्र पोखराबाट शुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा लेखनाथको अर्घौंचोकस्थित उक्त कार्यालय शुभारम्भ गरे ।

उक्त अवसरमा मुख्यमन्त्री गुरुङले सगरमाथा टिभिले आफ्नो क्षेत्र विस्तार गरेकोमा खुशी प्रकट गरे ।

उनले गण्डकी प्रदेशको प्रचारप्रसारमा टिभिले थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सगरमाथालाई प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी थिए ।

कार्यक्रममा सगरमाथा टेलिभिजनले जनप्रतिनिधि र व्यवसायीलाई साथमा राखेर मुख्यमन्त्रीसंग यस क्षेत्रका विषयवस्तु केन्द्रित छलफल समेत गरेको थियो ।

सहभागी जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा आफूले गरेका काम र गण्डकी प्रदेश सरकारको भूमिकाको बारेमा चर्चा गरेका थिए ।

राइनास नगरपालिका लमजुङका प्रमुख सिंहबहादुर थापाले गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश बनाउने लक्ष्य बनाए पनि राइनास नगरपालिकामा विजुलीका पोल अझै काठकै रहेको बताए ।

उनले प्रदेश सरकारको ध्यान कहिले पुग्छ भनेर मुख्यमन्त्री गुरुङसंग प्रश्न गरेका थिए ।

भिरकोट नगरपालिका स्याङ्जाका नगरप्रमुख छायाराम खनालले प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउँदा सहकार्य नगरेको गुनासो गरे ।

उनले जनताले आफूहरूलाई भ्रष्टाचारी आरोप लगाउने गरेको भन्दै यसमा प्रदेश सरकार चुप लागेर बस्नुको कारण सोधेका थिए ।

शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङ, मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले मुख्यमन्त्रीसंग प्रश्न गरेका थिए ।

जवाफमा मुख्यमन्त्री गुरुङले प्रदेश सरकार र स्थानीय सरकार सकार्य गर्दै अघि बढ्ने बताए ।

उनले स्थानीय सरकार र प्रदेश सरकारबीच यस्तै छलफल अन्य तवरबाट पनि हुनुपर्ने बताए ।

उनले स्थानीय स्तरमा भएका समस्या समाधानमा प्रदेश सरकार गम्भीर भएको स्पष्ट पारे ।

सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले सगरमाथा टिभि सबैको तेस्रो आँखा भएको भन्दै यस क्षेत्रको प्रचार प्रसारमा कुनै कमि हुन नदिने प्रतिवद्धता जनाए ।

यसैबीच सगरमाथा टेलिभिजनको गण्डकी प्रदेशको कार्यालय प्रमुखमा सुवास पौडेल रहेका छन् ।