ताजा समाचार

कार्तिक २३ गते २०७६

सनातन धर्म, संस्कार, संस्कृति र रीतिरिवाज कुल्चनेलाई भोट नदिनू : राना

नेपाली कांग्रेसकी नेतृ एवं सांसद विन्दादेवी रानाले यतिबेला कांग्रेसका लागि निकै महत्वपूर्ण अवसर आएको बताएकी छन् ।

चुनाव प्रचार अभियान अन्तर्गत पोखरा–१५ मा आयोजित कार्यक्रममा उनले नेपाल र नेपालीको सनातन धर्म, संस्कार, संस्कृति र रीतिरिवाज कुल्चनेहरूलाई मत नदिन उद्घोष गरिन् ।

‘जसले अरवौं भ्रष्टाचार गरेका छन्, जसले वाइडवढी जस्ता काण्ड मच्चाएका छन्, जसले परम्परा विर्सिएका छन्, जसले जनताको सपनामा कुठाराघात गरेका छन् । तिनको नाम जोडेर आउनेलाई ठीक ठाउँमा ल्याउन जनताले नै हो’, नेतृ रानाले भनिन् ।

उनले यस पटक कांग्रेसले विवके पुर्याएर खेमराज पौडेललाई उम्मेदवार बनाएको भन्दै नेतृ रानाले सबै जनताले विवेक पुर्याएर नै मतदान गर्न आग्रह गरिन् ।

उनले लगातार ३ पटक कम्युनिष्टलाई मत दिएर जनताले केही नपाएको भन्दै यसपटक कांग्रेसलाई दिन अपिल गरिन् ।

रानाले यो निर्वाचन जितेर कांग्रेसले सत्ता पल्टाउन त सक्दैन तर नकेपा सरकारको गलत रवैया रोक्न अवश्यक मद्धत गर्ने स्पष्ट पारिन् ।

कास्की कांग्रेसले नेतृ रानालाई पोखरा–१५ को चुनाव प्रचार समितिका लागि संयोजक तोकेको थियो । शुक्रबार संयोजक बनेकी राना शनिबार कार्यस्थलमा पुगि चुनाव प्रचार अभियान शुरु गरेकी थिइन् ।

अभियान अन्तर्गत वडासभापति टोपबहादुर थापाको संयोजकत्वमा विभिन्न २० वटा समिति बनाइएको छ ।

जसअन्तर्गत अर्थ संकलनमा पूर्वसभापति सुशिलराज पराजुली, बुथ परिचालनमा डिबी भण्डारी र पदमबहादुर खड्का, भातृसंस्था समन्वयमा मिनबहादुर गिरी, संस्घसंस्था तथा सुकुम्वारी समन्वयमा ऋषि काफ्ले, टोल विकास संस्था समन्वयमा कृष्णबहादुर कुँवर, आमा समूह समन्वयमा अम्विका पराजुली, युवा परिचालनमा प्रितम गुरुङ संयोजक छन् ।

यसैगरी वौद्धिक समूह परिचालनमा भेषराज गौतम, अगुगमनमा दयाराम गौतम, जनजाति परिचालनमा यामप्रसाद श्रेष्ठ, किसान परिचालनमा गोविन्दबहादुर गिरी, दलित समन्वयमा ओम प्रसाद सुनार, विद्यार्थी परिचालनमा नवीन पौडेल, भूपू सैनिक समन्वयमा ईश्वरबहादुर आले, पूर्व कर्मचारी समन्वयमा प्रेमनारायण पौडेल, महिला परिचालनमा विष्णुदेवी आचार्य, ज्येष्ठ नागरिक समन्वयमा क्या. हरिकृष्ण कुँवर र सहकारी संस्था समन्वयमा दलबहादुर कुँवर संयोजक छन् ।

यता, भेलाले वडालाई ६ वटा क्षेत्र विभाजन गरि संयोजक समेत तोकिएको छ । जसअन्तर्गत खरबारी क्षेमा शान्तिदेवी पन्त र नित्यलाल अधिकारी, सेन्टमेरिज क्षेत्रमा विष्णुदेवी आचार्य र पूर्णबहादुर कुँवर, टुटुंगा क्षेत्रमा माया भण्डारी र अमरबहादुर खत्रीलाई संयोजक तोकिएको छ ।

यसैगरी ठूली मजुवा क्षेत्रमा देउकुमारी भण्डारी र सूर्यबहादुर बानियाँ, फलेपाटन क्षेत्रमा गीता भण्डारी र राजेश गौतम, रामबजार क्षेत्रमा खेमकुमारी बराल र अर्जुन विश्वकर्मालाई संयोजक तोकिएको कांग्रेसका वडासचिव धनराज पूरीले जानकारी दिए ।