ताजा समाचार

कार्तिक २२ गते २०७६

गोपीनी यसरी बनिन् भगवान् श्रीहरिकी तुलसी (कथा)

पद्म, शिव स्कन्द एवं श्रीमद्‌देवीभागवत आदि पुराणका अनुसार तुलसीको जन्म दक्षसावर्णी मनुको वंशज धर्मध्वजकोमा शुभ दिन, योग, करण, लग्न र ग्रहमा कार्तिक पूर्णिमामा भएको थियो । उनी अपूर्व सुन्दरी थिइन्।

अल्पावस्थामा नै तुलसी बद्रीवनमा गएर भगवान् नारायणलाई पतिरूपमा प्राप्त गर्नको लागि तपस्या गर्न थालिन् ।  दीर्घकालीन तपस्या उपरान्त ब्रह्माजीले उहाँलाई दर्शन दिनुभयो तथा मनोअभिलाषित वर माग्नको लागि भन्नुभयो ।

तुलसीले निवेदन गरिन्  ‘पितामह ! यद्यपि तपाई सर्वज्ञ हुनुहुन्छ तथापि म आफ्नो मनको अभिलाषा तपाईलाई भन्छु । पूर्वजन्ममा म गोपीनि थिए, मलाई भगवान् श्रीकृष्णकी अनुचरी हुनुको सौभाग्य प्राप्त थियो, तर एक दिन भगवती राधाले रासमण्डलमा क्रुद्ध भएर मलाई मानव-योनिमा उत्पन्न हुने श्राप दिनुभयो, त्यसै कारण अब म यस भूमण्डलमा उत्पन्न भएको छु । भगवान् नारायण त्यस समय मेरो पति हुनुहुन्थ्यो । उहाँलाई नै म अहिले पनि पतिरूपमा प्राप्त गर्न चाहन्‍छु।’

ब्रह्माजीले भन्नुभयो ‘सुदामा नामक गोपी जो नारायणका पार्षद थिए, श्रीराधिकाजीको श्रापबाट पृथ्वीमा उत्पन्न भएका छन् र उनि यस समय शंखचूड नामबाट प्रसिद्ध छन्। उनी भगवान् श्रीकृष्णका नै अंश हुन्, जो तिम्रो प्रथम पति हुनेछन्। त्यसपछि भगवान् नारायणले तिमिलाई पत्नीरूपमा स्वीकार गर्नुहुनेछ।’

दनुकुलमा उत्पन्न शंखचूड महान योगी थिए। एक पटक उनि बद्रीबनमा आए । उनलाई जैगीषव्य मुनिको कृपाले भगवान् श्रीकृष्णको मनोहर मन्त्र प्राप्त थियो। ब्रह्माजीले पनि उनलाई अभिलाषित वर दिएर त्यहाँ आउने आज्ञा दिनुभएको थियो। संयोगवश तुलसीको दृष्टि उनिमाथि पर्यो। दुवै परस्पर वार्तालापमा संलग्न भए सोहि समय ब्रह्माजी प्रकट भएर दुवैलाई दाम्पत्यसूत्रमा बाधिने आदेश दिनुभयो। शंखचूड- तुलसीले गान्धर्व विवाह गरेर आनन्दपूर्वक रहन थाले ।

आफ्नो धर्मपत्नी परम सुन्दरी तुलसीसँग शंखचूडले दीर्घकालसम्म राज्य गरे  । उनको शासन देवता, दानव सवै मान्थे, तर देवतागण आफ्नो अधिकार छिनिने डरको स्थितिमा थिए । देवताहरु ब्रह्मा तथा शंकरलाई लिएर श्रीहरिको पावन धाम वैकुण्ठ गए तथा उहाँको स्तुति गरेर, विनयशील भएर भगवान् श्रीहरिसँग सबै परिस्थितिको बारेमा बताए।

सर्वज्ञ भगवान श्रीहरिले देवताहरुलाई शंखचूडको जन्मको अद्भुत रहस्य बताउनुभयो र भन्नुभयो,’महान् तेजस्वी शंखचूड पूर्वजन्ममा मेरो नै अंशका एक गोपी थिए, जसलाई राधिकाको श्रापको कारण यो योनि प्राप्त भएको छ । तर यो समयमा  शंखचूड पुनः गोलोक जानेछन्।’

उहाँले भगवान् शंकरलाई शंखचूडलाई संहार गर्नको लागि एक त्रिशूल प्रदान गरेर भन्नुभयो ‘शंखचूड मेरो मंगलमय कवच सधै धारण गरिरहन्छन्, जसकारण कसैले उसलाई मार्न सक्दैन । अतः म स्वयं नै ब्राह्मणभेषमा उनको कवचको लागि याचना गर्नेछु । तब तपाईद्वारा यस त्रिशूलको प्रहारबाट त्यसै समय उसको बध गर्नुहुनेछ र तुलसी पनि यो शरीर त्यागेर पुनः मेरी पत्नी बन्नेछिन् ।’

तदनुरुप देवताहरुको अभ्युदय गर्ने विचारले भगवान महादेवले चन्द्रभागातटमा एक मनोहर वट-वृक्षको तल आफ्नो आसन बनाउनुभयो र गन्धर्वराज चित्ररथलाई आफ्नो दूत बनाएर शंखचूड भएको ठाँउमा सन्देश पठाउनुभयो  । उहाँले सन्देशमा भन्नुभयो ‘  दानवराज या त देवताहरुको राज्य र उनको अधिकारलाई फिर्ता गर अथवा युद्ध गर्नको लागि प्रस्तुत हौं।’

यो सन्देश सुनेर शंखचूडले दूतसँग हास्दै भन्छन्,’ तिमि जाउ म भोलि प्रात:काल भगवान् शंकर भएको ठाँउमा स्वयं आउनेछु।’ यता भगवान् शंकरको प्रेरणाबाट उहाँका पुत्र कार्तिकेय र भद्रकाली आदि देवि देवताहरु अस्त्र-शस्त्र लिएर रण मैदानमा पुग्छन् ।

यता दूत गएपछि शंखचूडले अन्त:पुरमा गएर तुलसीसँग युद्ध सम्बन्धीको कुरा बताए, जसलाई सुनेर तुलसीको ओठ र अनुहार सुक्यो । शंखचूडले उनलाई सम्झाए र भने ‘कर्मभोगको सम्पूर्ण निबन्ध कालसूत्रमा बाधिएको छ। शुभ, हर्ष, सुख-दु:ख, भय, शोक र मंगल सबै कालको अधिनमा छन् । तिमि उनै भगवान् श्रीहरिको शरणमा जाउ, अब तिमिलाई उनि पतिरूपमा प्राप्त हुनेछन्, जसलाई पाउनको लागि बद्री-आश्रममा तिमिले तपस्या गरेकी थियौ । म पनि यस दानव-शरीरलाई परित्याग गरेर दिव्यलोकमा जानेछु । अतः शोक गर्नुको कुनै आवश्यकता छैन ।’

तुलसी केहि आश्वस्त भइन र शंखचूडले ब्रह्ममुहूर्तमा शय्यालाई त्यागेर तथा नित्यकर्मलाई सम्पन्न गरे । तदान्तर उनले एक महारथीलाई सेनापति-पदमा नियुक्त गरे । उनि मन मनै भगवान् श्रीकृष्णलाई स्मरण गर्दै उत्तम रत्नले बनेको बिमानमा सवार भएर गए । पुष्पभद्रा-नदीको तटमा सुन्दर अक्षयवटको तल उनले भगवान शंकरलाई देखे । भगवान शंकर योगासन-मुद्रा लगाएर हातमा त्रिशूल र पट्टिश धारण गरेर बस्नु भएको थियो । दानवराज उहाँलाई देखेर विमानबाट उत्रिए तथा भगवान् शंकरलाई आफ्नो शिर झुकाएर भक्तिपूर्वक प्रणाम गरे । शंकरजीको वामभागमा भद्रकाली विराजित थिइन् र सामुने स्वामी कार्तिकेय थिए । तीनैले शंखचूडलाई आशीर्वाद दिए ।

फेरी शंखचूडले भगवान् शंकरसँग भने ‘ तपाई देवताहरुको पक्ष लिनु उचित होइन, तपाईको लागि हामी दुवै समान हौ । हाम्रो र तपाईबिचको युद्ध पनि तपाईको लागि लज्जाको बिषय हुनेछ। हामी विजयी भए हाम्रो कीर्ति अधिक फैलनेछ र पराजित भए हाम्रो कीर्तिमा निकै थोरै धब्बा लाग्नेछ ।’

शंखचूडको कुरा सुनेर भगवान् त्रिलोचन हास्न थाल्नुभयो र भन्नुभयो ‘या त तिमि देवताहरुको राज्य फिर्ता गर अथवा मसँग लड्नको लागि तयार हौं। यसमा लज्जाको कुनै कुरा छैन ।’ तब शंखचूडले भगवान् शंकरलाई प्रणाम गरे र आफ्नो सेनालाई युद्धको लागि आज्ञा दिए । युद्ध प्रारम्भ भयो । युद्धमा दानवहरुले भगवान शंकरदलका धेरै वीरहरुलाई परास्त गरे ।

देवताहरु डराएर भाग्न थाले । त्यसै समय स्वामिकार्तिकेयले गणहरुलाई ललकारे र स्वयं पनि दानवसँग लड्न थाले । दानव सेना डराए । तव शंखचूडले विमानमा चढेर भीषण बाण-वर्षा प्रारम्भ गर्न थाले । तब भीषण युद्ध भयो। दानवराजले मायाका आश्रय लिएर बाणहरुको जाल फैलाए। यसबाट स्वामिकार्तिकेय ढाकिए । अन्तमा भगवान् शंकर स्वयं आफ्नो गणहरुसँग संग्राममा पुग्नुभयो, उहाँलाई देखेर शंखचूडले  विमानबाट उत्रिएर परम भक्तिसँग पृथ्वीमा टाउको राखेर दण्डवत प्रणाम गरे।

तदपरान्त उनि तुरुन्त रथमा सवार भए र भगवान् शंकरसँग युद्ध गर्न थाले । लामो अवधिसम्म दुवैविच युद्ध चल्यो, तर कसैले कसैलाई न जितेका थिए न परास्त भएका थिए । तव भगवान् श्रीहरि एक अत्यन्त आतुर बूढो ब्राह्मणका भेष धारण गरेर युद्धभूमिमा आउनुभयो। उहाँले शंखचूडसँग उसको ‘कृष्णकवच’ को लागि याचना गर्नुभयो । शंखचूडले परम प्रसन्नतापूर्वक कवच उनलाई दिए ।

यसै बीच भगवान शंखचूडको रूप धारण गरेर तुलसीसँग पनि भेट्न आउनुभयो । यता शंकरजीले भगवान् श्रीहरिले दिएको त्रिशूल उठाएर शंखचूडमाथी चलाउनुभयो । शंखचूडले पनि सम्पूर्ण रहस्य जानेर आफ्नो धनुष धर्तीमा फ्याके र बुद्धिपूर्वक योगासन लगाएर भक्ति पूर्ण अनन्यचित्तबाट भगवान् श्रीकृष्णको चरण-कमलको ध्यान गर्न थाले ।  त्रिशूल केहि समयसम्म उनिको नजिक घुमिरह्यो तदनन्तर शंखचूडकमाथि बज्रियो । त्रिशुल बज्रिएसँगै तुरुन्तै ती दानभेश्वर तथा उनका रथ सबै जलेर भस्म भए।

दानव-शरीर भस्म भएपछि उनले एक दिव्य गोपको शरीर धारण गरे । यतिमै अकस्मात् सर्वोत्तम दिव्य मणिहरुद्वारा निर्मित एक दिव्य विमान श्रीकृष्णको गोलोकबाट आयो तथा शंखचूडा त्यसमा सवार भएर गोलोकतर्फ प्रस्थान गरे।

शंखचूडको हड्डीबाट शंखको उत्पत्ति भयो । त्यहि शंख अनेक प्रकारको रुपमा देवताहरुको पूजामा अत्यन्त पवित्र मानिन्छ, शंखको जललाई श्रेष्ठ मानिन्छ । जो शंखको जलले स्नान गर्छ उसलाई सम्पूर्ण तीर्थमा स्नान गरेको फल प्राप्त हुन्छ ।  शंख साक्षात् भगवान् श्रीहरिका अधिष्ठान हो। जहाँ शंख रहन्छ अथवा शंखध्वनि हुन्छ, त्यहाँ भगवान् श्रीहरि भगवती लक्ष्मीसहित सदा निवास गर्नुहुन्छ र अमंगल टाढैबाट भाग्छ ।

भगवान् विष्णुले वैष्णवी माया फैलाएर शंखचूडबाट कवच लिएपछि शंखचूडको नै रूप धारण गरेर साध्वी तुलसीको घर पुग्नुभयो । तुलसीले जब जानिन् कि यी शंखचूड रुपमा अन्य कोहि हुन्, तब तुलसीले सोधिन्  ‘मायेश! भन्नुस तपाई को हो ? तपाईले कपटपूर्वक मेरो सतीत्व नष्ट गर्नुभयो, अत: म तपाईलाई श्राप दिदैछु।’

तुलसीको वचन सुनेर श्रापको भयले भगवान श्रीहरिले लीलापूर्वक आफ्नो सुन्दर मनोहर स्वरूप प्रकट गर्नुभयो । देवी तुलसीले आफ्नो अघि सनातन प्रभु देवेश्वर  श्रीहरिलाई देखिन् । भगवान् श्रीहरिले भन्नुभयो -‘भद्रे ! तिमिले मेरो लागि बद्रीवनमा रहेर कडा तपस्या गरिसकेकी छौ । अब तिमि यस शरीरलाई त्याग गरेर दिव्य देह धारण गर र मसँग आनन्दले बस। लक्ष्मी समान तिमि सदा मेरो साथ रहनेछौ । तिम्रो यो शरीर गण्डकी नदीको रूपमा प्रसिद्ध हुनेछ, जसले मनुष्यहरुलाई  उत्तम पुण्य दिने छ । तिम्रो कपाल पवित्र वृक्ष हुनेछ । तुलसीको नामबाट नै प्रसिद्धि हुनेछ । देव-पूजामा आउदो त्रिलोकको जति पत्र र पुष्प छन्, त्यसमा यसलाई प्रधान मानिनेछ । तुलसी-वृक्षको माटो परम पवित्र हुनेछ । तुलसीबाट झर्ने पत्ता प्राप्त गर्नको लागि समस्त देवताहरुसँग म पनि रहनेछु ।’

तुलसी-पत्रको जलबाट जसको अभिषेक हुनेछ उसको सम्पूर्ण तीर्थमा स्नात तथा समस्त यज्ञहरुमा दीक्षित सम्झनु पर्छ । हजारौं घडा अमृतबाट भगवान् श्रीहरिलाई जो तृप्ति हुन्छ त्यतिने तृप्ति तुलसीको एक पत्ता चढाउनाले हुनेछ । दस हजार गाइदानबाट जुन पुण्य हुन्छ त्यही  कार्तिकमासमा तुलसी-पत्र दानबाट सुलभ छ ।

मृत्युको अबसरमा जसको मुखमा तुलसी-पत्र-जल प्राप्त हुन्छ, उ समस्त पापहरुबाट मुक्त भएर भगवान् श्रीविष्णुको लोकको अधिकारी बन्नेछ । तुलसीकाठको मालाको गलमा धारण गर्नेवाला पद-पदमा अश्वमेध-यज्ञको फलको भागी हुनेछ ।

‘तुलसी! तिम्रो श्रापलाई सत्य गर्नको लागि म  ‘पाषाण’- शालिग्राम बन्नेछु । गण्डकी नदीको तटमा मेरो वास हुनेछ ।’

यस प्रकार देवी तुलसीलाई कुरा सुनाएर भगवान् श्रीहरि मौन हुनुभयो । देवी तुलसीले आफ्नो शरीरलाई त्यागेर दिव्य रूपबाट भगवान् श्रीहरिको वक्षःस्थलमा लक्ष्मी जस्तै शोभा पाउन थालिन् ।  कमलापति भगवान् श्रीहरि उनलाई साथमा लिएर वैकुण्ठ फर्किनुभयो ।

लक्ष्मी, गंगा, सरस्वती र तुलसी-यी चार देविहरु भगवान श्रीहरिकी पत्नि भए। तुलसीको देहबाट नेपालको गण्डकी नदि बन्यो र भगवान् श्रीहरि पनि गण्डकीको तटमा मनुष्यहरुको लागि पुण्यप्रद शालिग्राम-पर्वत बन्नुभयो।