कास्की जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले निर्वाचनको समयमा मानव अधिकारकर्मीको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
आगामी मंसिर १४ गते हुने कास्की जिल्ला क्षेत्र नं २ प्रतिनिधि सभाको उपनिर्वाचनका बारेमा जानकारी लिन जिल्ला निर्वाचन कार्यालय पुगेका राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गण्डकी प्रदेशका टोलीसंगको छलफलमा सुवेदीले निर्वाचनका क्रममा आचारसंहिता पालना भए÷नभएको बारेमा समेत अनुगमन गर्न आग्रह गरे ।
उक्त अवसरमा नियोकका प्रदेश अध्यक्ष टेकनाथ बराल, सचिव विष्णुप्रसाद बराल, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल लगायत सहभागी थिए ।
‘मतदाता शिक्षा दिनुस्, अनौपचारिक रुपमा निर्वाचनको परिवेक्षण गरेर आगामी दिनमा पनि निर्वाचनलाई सुधार गर्नुपर्ने केही विषय सुझाव दिनुस्’, टोलीसंग सुवेदीले भने ।
उनले मंसिर पहिलो हप्ताबाट मतदाता शिक्षा कार्यक्रम संचालन गरिने जानकारी दिए । सुवेदीले केन्द्रको सुरक्षा व्यवस्था, निर्वाचनका लागि आवश्यक सामग्री खरिद गर्ने काम भइरहेको जानकारी दिए ।
उक्त अवसरमा वरिष्ठ मानव अधिकारकर्मी तथा नियोक गण्डकी प्रदेश अध्यक्ष टेकनाथ बरालले उपनिर्वाचनलाई निष्पक्ष बनाउनका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
नियोक गण्डकी प्रदेश सचिव विष्णुप्रसाद बराल र इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले विगतमा जस्तै यसपटक पनि मतदाता शिक्षा कार्यक्रम र निर्वाचन परिवेक्षणमा सक्रिय रुपमा लाग्ने स्पष्ट पारे ।
पोखरा महानगरपालिकाको ११ वडा रहेको कास्की क्षेत्र नं २ मा ३२ वटा मतदान स्थलमा ८२ वटा मतदान केन्द्र रहेका छन् ।
निर्वाचन कार्यालयले ७१ हजार ८ सय ७१ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । भने कात्तिक २१ गते १० देखि १ बजेसम्म उम्मेदवार मनोनयको समय तोकिएको छ ।





