कास्की क्षेत्र नं. २ का उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तोकेको सीमा अनुसार प्रतिनिधि सभाका सदस्य उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् ।
यसैगरी प्रदेशसभा सदस्यले रु १५ लाख तथा उपमहानगरपालिका प्रमुखका उम्मेदवारले रु ५ लाख ५० हजार खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरिएको छ ।
आयोगका अनुसार उपनगरपालिकाको वडाध्यक्षका लागि रु २ लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षका लागि रु २ लाख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि रु ३ लाख ५० हजार र वडाध्यक्षका लागि रु १ लाख ५० हजार निर्वाचन प्रचारप्रसारका लागि खर्चको सीमा निर्धारण गरिएको छ ।
उपनिर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता यही कात्तिक ८ गतेबाट लागू भइसकेको छ । राजनीतिक दल, उम्मेदवार, कर्मचारी र सरकारलाई बेग्लाबेग्लै मितिदेखि निर्वाचन आचारसंहिता लागू हुनेछ ।




