कास्की-२ : बाहिरका उम्मेदवार पठाए फिर्ता पठाउने चेतावनी

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले कास्की बाहिरबाट उम्मेदवार पठाए फिर्ता पठाउने चेतावनी दिएका छन् । चुनावी सरगर्मी बढेसंगै केन्द्रीय सदस्य धनराज गुरुङको चर्चा बढेको छ ।

गुरुङको चर्चा यसअघि पनि भएको थियो तर बिचमा उक्त चर्चा सेलाएको थियो । नेकपा लगायतका साझा र समाजवादी पार्टीले उम्मेदवार टुंग्याएसंगै कांग्रेसबाट धनराज गुरुङको चर्चा तीव्र भएको छ ।

नेता गुरुङले पार्टीले चाहे आफू कास्की–२ मा आउन तयार भएको बताइसेकका छन् । उनले अघिल्लो चुनावमा अवसर पाएका थिएनन् । उनले अवसर नपाएपछि तीव्र आलोचना भएको थियो ।
कास्की सभापति केसीले सकेसम्म निर्वाचन क्षेत्रकै त्यो पनि नभए कास्कीकै उम्मेदवार हुनुपर्नेमा जोड दिएका छन् ।

नेपालदूतसंग कुरा गर्दै सभापति केसीले कास्की भन्दा बाहिरबाट उम्मेदवार ल्याइए फिर्ता पठाउने बताए ।
उनले भने, ‘यदि कास्की भन्दा बाहिरबाट उम्मेदवार ल्याइए पार्टीको बैठक बसेर पुनःविचार गर्न आग्रह गर्छौं ।’

कास्की भन्दा बारिहका व्यक्तिलाई नेता, कार्यकर्ताले मन नपराउने र जनताले पनि साथ नदिने केसीले बताए ।

कास्की–२ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भागमा परेको चर्चा छ । योसंगै देउवा निकटका आकांक्षी उम्मेदवारहरु निराश बनेका छन् ।