ताजा समाचार

कार्तिक १७ गते २०७६

आइफोन र आइप्याड अपडेट आजै गरौं, नत्र…

एप्पलले पुराना आइफोन र आइप्याडहरुमा आज आइतबारसम्ममा पछिल्लो आइओएस सफ्टवेयर अपडेट नगरेमा इन्टरनेट कनेक्सन हुन नसक्ने जनाएको छ ।

आइफोन र आइप्याड सन् २०१२ का वा त्यो भन्दाअघि निर्माण गरिएकाहरुलाई नोभेम्बर ३ अर्थात् आज आइतबारसम्ममा अपडेट गर्नुपर्ने जनाइएको छ । एप्पलकाअनुसार यो जीपीएस टाइम रोलओभरको विषयका कारणले हो । 

हरेक १९ वर्षमा जीपीएस डिभाइसको समय र तिथीको रिसेट गर्नु जरुरी हुने अमेरिकी उर्जा मन्त्रालयको विद्युत कार्यालयले जनाएको छ । एप्पलले यदि कसैसँग आइफोन ५,४ वा सेलुलर भएको आइप्याड मिनी, आइप्याड सेकेन्ड वा थर्ड जेनेरेसन छ भने अपडेट गर्न भनेको छ । 

अपडेटेड सफ्टवेयर भर्सन नम्बर १०.३.४ वा ९.३.६ हुनुपर्ने र यो डिभाइसको प्रकारमा भर पर्ने जनाइएको छ । आइओएस १०.३.४ आइफोन ५ र आइप्याड (फोर्थ जेनेरेसन) वाइफाइ प्लस सेलुलर तथा आइओएस ९.३.६ आइफोन ४, आइप्याड (फस्ट जेनेरेसन) वाइफाइ प्लस सेलुलर, आइप्याड २ वाइफाई प्लस सेलुलर (सीडीएमए मोडेल मात्र), आइप्याड (थर्ड जेनेरेसन) वाइफाइ प्लस सेलुलरका लागि भएको जनाएको छ ।

यदि ग्राहक आफ्नो आइफोन र आइप्याड कुन भर्सनको हो भन्ने बारेमा प्रष्ट नभएमा सेटिङ एप खोलेर पहिला जनरलमा थिच्ने र त्यसपछि एबाउटमा जाने भनिएको छ । त्यसपछि सफ्टवेयर भर्सनको नम्बरमा हेर्न सकिने जनाइएको छ । (सीएनएनबाट)