ताजा समाचार

कार्तिक १५ गते २०७६

असिनाले टिम्मुर सखाप !

गुणस्तरीय टिम्मुरको पकेट क्षेत्र मानिएको बेनी नगरपालिका–९, तोरीपानीमा यस वर्ष टिम्मुर उत्पादनमा ९० प्रतिशतले कमी आएको छ ।

बोटमा पाकेर टिप्ने बेला असोजको तेस्रो साता परेको असिनाले झारिदिएपछि टिम्मुर गाउँमै बीउको समेत अनिकाल परेको भुमेसिद्ध टिम्मुर सञ्जाल तोरीपानीका अध्यक्ष सागर बानियाँले बताए ।

अध्यक्ष बानियाँका अनुसार तोरीपानीमा २०७२ सालमा ७१ मुरी टिम्मुर फलेको थियो । गत वर्ष ५० मुरीको हाराहारीमा बाहिर निर्यात गरिएको थियो । यस वर्ष बीउसमेत नरहेकाले बाहिरबाट बीउ ल्याउनु पर्ने अवस्था भएको छ ।

आधा दशक अगाडिसम्म कौडीको मूल्यमा बिक्री हुने टिम्मुरको स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि तोरीपानीका कृषक टिम्मुर खेतीतर्फ आकर्षित भएका थिए । प्

रतिपाथी १ हजार ८ सयदेखि २ हजार ३ सय रुपैयाँ सम्ममा बिक्री हुने टिम्मुरबाट गाउँमा वार्षिक ५० लाख भन्दा बढी रकम भित्रिने गरेकामा यस वर्ष भने यहाँका किसानले टिम्मुर बिक्रीबाट हुने आम्दानी गुमाए ।

खेतबारी, सामुदायिक वनमा फलेको टिम्मुरलाई घरायसी प्रयोजनमा ल्याउने र थोरै मात्रामा सदरमुकाम बेनी लगेर बेच्ने किसानहरु अहिले यसैबाट मनग्य कमाउँछन् । अध्यक्ष बानियाँका अनुसार २–४ जनाबाट शुरू गरिएको टिम्मुर खेतीमा अहिले गाउँका १ सय ५० घरधुरी सक्रिय रहेका छन् ।

तोरीपानीलाई नेपालमा धेरै टिम्मुर उत्पादन गर्ने गाउँ बनाउने अभियान समेत शुरु भएको उनले बताए । कमजोर आर्थिक अवस्था भएकालाई अनुदानमा बिरुवा वितरण गरिएको छ ।

गाउँमा उत्पादन भएको टिम्मुर मुस्ताङ, पोखरा, काठमाडौँ लगायत देशका विभिन्न जिल्लाका साथै यूरोपमा समेत पुग्ने गरेको छ । गाउँमा १९ वटा समूह गठन गरी टिम्मुर खेती विस्तार गर्ने काम भइरहेको छ ।

दलित र एकल महिलालाई सामुदायिक वनमा फलेका टिम्मुर टिप्न र बेच्न छुट दिइएको छ ।