मंसिर १४ गते हुने कास्की क्षेत्र नं.२ को प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो उम्मेवारलाई विजयी गराउन समाजवादी पार्टीले ५ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समिति घोषणा गरेको छ ।
समाजवादी पार्टीको बिहीवारको विशेष भेलाले कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ संयोजक र पोखरा महानगर समिति अध्यक्ष टिकाराम पौडेल सहसंयोजकत्वमा चुनाव प्रचार प्रसार समिति गठन गरेको हो ।
उपनिर्वाचनमा वैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीले आफ्नो उम्मेदवारलाई विजयी गराउन समेत विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।
पोखरा महानगरपालिकाको वडा नं. ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी ११ वटा वडामा ब्लक ब्लक र वडा वडाका कमाण्डका लागि केन्द्रीय, प्रदेश र तमुवानका नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको गण्डकी प्रदेश इञ्चार्ज गणेशमान तमुले जानकारी दिए ।

कास्की क्षेत्र नं. २ को उम्मेदवारका लागि गण्डकी प्रदेश समितिले धर्मराज गुरुङ, हेमबहादुर थापा किरण र रामबहादुर नेपालीको नाम केन्द्रमा सिफारिस गरेको छ । उक्त सिफारिस गरिएका नाम मध्येबाटै १/२ दिन मै केन्द्रीय पदाधिकारी बैठकले उम्मेदवार घोषणा गर्ने इञ्चार्ज तमुले बताए ।
कास्की क्षेत्र नं. २ बाट निर्वाचित तत्कालिन पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारी गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन पश्चात उपनिर्वाचन हुने भएको हो ।





