पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक खण्डलाई ४ लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता प्राप्त हुने भएको छ ।
एशियाली विकास बैंक (एडिबी) ले उक्त रकम ऋणको रुपमा उपलव्ध गराउने भएको हो । बैंकले यो ऋण रकमलाई स्वीकृत समेत गरिसकेको छ ।
विद्यमान २ लेनको उक्त राजमार्गलाई ४ लेनमा रुपान्तरण गर्न सरकारले रु ५ अर्ब ९० करोड लगानी गर्नेछ ।
एडिबीको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले उक्त ऋण रकम स्वीकृत गरेको हो ।
भारत र बंगलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकले लिएको छ ।
८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने ८ किलोमिटर आबुखैरनी–मुग्लिन खण्ड त्यसपछि निर्माण गरिनेछ । एडिबीका अनुसार आगामी ५ वर्षभित्र उक्त राजमार्ग ४ लेनको बनाइसक्ने लक्ष्य छ ।





