राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लले आफूले कप्तान नियुक्तको खबर पाउँदा आश्चार्यमा परेको बताएका छन् ।
पारस खड्काको राजिनामा स्वीकृति गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार ज्ञानेन्द्रलाई टोलीको नयाँ कप्तान नियुक्त गरेका थिए ।
सन् २००९ देखि कप्तान रहेका पारसले केहि दिन अघि पदबाट राजिनामा दिएपछि पद खाली थियो । पारस कप्तान रहेको एक दशक ज्ञानेन्द्र टोलीको उप कप्तान रहेका थिए । क्यानले दीपेन्द्र सिंह ऐरीलाई नयाँ उप कप्तान नियुक्त गरेको छ ।
‘म त भाई टिका गरेर बसेको थिए,’ ज्ञानेन्द्र हाम्रो खेलकुदसँग भने, ‘कप्तान नियुक्त भएको खबरले आश्चार्यमा परे ।’
ज्ञानेन्द्र टोलीका केहि सिनियर खेलाडी मध्येका एक हुन् । पारसको अनुपस्थितिमा उनले केहि खेलमा टोलीलाई कप्तानी गरिसकेका छन् ।
क्यानले आफुलाई कप्तान बनाउने नबाउनेमा त्यत्ति पक्का नरहेको पनि ज्ञानेन्द्रले सुनाए ।
‘जसरी बाहिर विषय आइरहेको थियो । म कप्तान नियुक्त बन्छु वा बन्दिन भन्नेमा पक्का थिइन,’ उनले भने, ‘को कप्तान हुने भन्ने मेरो चाहना वा नियन्त्रणमा हुने विषय थिएन । त्यसैले मैले त्यसमा धेरै दिमाग खियाएको पनि थिइन ।’
पारसले बुधबार नै फेसबुकमार्फत ज्ञोन्द्रलाई बधाई दिएका छन् । फेसबुकमा पारसले सबैभन्दा हकदार खेलाडी कप्तान नियुक्त भएको भन्दै उनलाई बधाई दिएका हुन् ।




