म्याग्दीका निर्मल पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् ।
सोमबार चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा ७ महिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका छन् ।
सोमबार उनले विश्वकै चौथो अग्लो सिसापङ् (८,०२७ मि) हिमाल आरोहण गरेका हुन् । चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोके पनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गर्दै विशेष अनुमति दिएको थियो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जाले गत वैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण शुरू गरेका थिए ।
त्यसलगत्तै म्याग्दीमै रहेको सातौँ अग्लो धवलागिरि हिमालको (८,१६७ मि) आरोहण गरेपछि थप हिमाल आरोहणमा निस्कनुभएको उनका आफन्त रेमन पुर्जाले जानकारी दिए ।
पुर्जाले धवलागिरि हिमालमा बिना अक्सिजन आरोहण गरेको जनाइएको छ । उनले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नाङ्गा पहाड, गशेब्रुम, ब्रोड पिक, गशेब्रुम दोस्रोको आरोहण गरेका हुन् ।
आरोहण गरेका १४ अग्ला हिमालमध्ये ८ भने नेपालमै पर्दछन् । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछन् । हालसम्म विश्वमा कुनै पनि आरोहीले छोटो समयमा २ दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड नभएको बताइएको छ ।
मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका म्याग्दी अन्नपूर्ण गाउँपालिका–४, दानाका पुर्जाको प्रोजेक्ट पोसिबल’ परियोजना नाम दिइएको थियो । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरि चर्चा कमाउन सफल भएका छन् ।
आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पालगायत शेर्पाको टोलीले सघाइरहेको छ । ३५ वर्षीय निर्मल ‘स्पेशल फोर्स’ मा छानिने पहिलो गोर्खाली समेत हुन् ।
मार्च २०१९ मा ब्रिटिस आर्मीको जागिर छाडेर हिमाल आरोहण अभियान थालेका पुर्जाले आफ्नै जन्म जिल्लामा रहेको ८ हजार मिटर अग्लो धवलागिरि र अन्नपूर्ण आरोहण गर्ने पहिलो म्याग्देलीको उपाधिसमेत जितेका छन् ।





