चराङमा विमानस्थल बन्छ : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमालपारीको जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१, चराङमा बिमान स्थल निर्माण गर्ने बताएका छन् ।

सोमबार काठमाडौंबाट हेलिकप्टरमार्फत पोखरा हुँदै उपल्लो मुस्ताङको चराङ पुगेका मन्त्री भट्टराईले प्रस्तावित चराङ विमानस्थलको निरीक्षणकाक्रममा संसारका अग्ला/अग्ला स्थानमा समेत विमानस्थल निर्माण भएको उल्लेख गरे । मन्त्री भट्टराईले चराङमा पनि विमानस्थल निर्माण गर्न कुनै चिजले बाधा नपुर्याउने स्पष्ट पारे ।

चराङमा विमान स्थल निर्माण गर्न १ बर्षअघि सरकारले प्रारम्भिक सर्बे गरिसकेको र अब छिट्टै प्राविधिक टोली पठाएर चराङ विमानस्थलको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर¬) तयार गरिने स्थानीयबासीलाई आश्वास्त पारे ।

समुद्री सतहदेखि ५ हजार मिटर अग्लो तिब्बतको कैलाश मानसरोबर जस्ता स्थानमा विमानस्थल निर्माण भएको र नेपालकै पनि स्यावोचे र लुक्लामा विमानस्थल निर्माण भई सेवा प्रभाव भईरहेको मन्त्री भट्टराईले उदाहरण पेस गरे ।

मन्त्री भट्टराईले विमानस्थल निर्माण हुन सके धार्मिक पर्यटन तथा विदेशी पर्यटकको आवागमन बृद्धि हुने दाबी गरे ।

‘पोखरा–काठमाडौंबाट हेलि तथा प्लेन चढेर आउने स्वदेशी तथा बिदेशी पर्यटक जब चराङ अवतरण हुन्छ तब प्लेनबाट बाहिर निस्कदा अत्भूत दृश्य देखेर स्वर्गमै पुगेको महसूस गर्नेछन्, ‘मन्त्री भट्टराईले भने, ‘प्लेन चढेर आउने पर्यटकका लागि दामोदरकुण्ड र कोरलानाका टाढा छैन । विमान स्थलसेवा भएपछि स्वदेशी तथा भारतीय पर्यटक दामोदरकुण्ड पूजा गर्न आउछन् ।’

मन्त्री भट्टराईले बिमान स्थल संगसंगै दामोदरकुण्ड नजिकसम्म सडक विस्तार गर्न सकिने भएकाले अब छिट्टै उपल्लो मुस्ताङमा समृद्धि र विकासको लहर छाउने बताए । भट्टराईले उपल्लो मुस्ताङमा पशुपालन तथा कृषि उत्पादनको प्रचुर सम्भावना रहेको बताए ।

उनले भने, ‘उच्च उचाईको चिसो भुगोलमा उत्पादन भएको स्याउ र पशुपालनबाट निर्माण हुने उत्पादित बस्तु स्वदेश तथा बिदेशमा निर्यात गर्ने सकिन्छ । यसले पर्यटनका साथै कृषि उत्पादनको सहज बजारिकण गर्न सकिन्छ ।’

पूरै समय विमानस्थलसंग जोड्दै मन्त्री भट्टराईले प्लेनबाट चराङ उर्लिएका पर्यटक तिब्बत समेत जान सक्ने उल्लेख गरे ।

सरकारले उत्तरी कोरलानाकालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मन्त्री भट्टराईले यसका लागि पोखरा–बुटवल कालिगण्डकी करिडोर सडक बिस्तार गरिरहेको जनाए ।

‘अब हिमालसंग दुरी एकदमै नजिक बन्दैछ , यसका लागि सबै संयन्त्रहरू बिस्तार भईरहेकोले हिमाली कनेक्टिभिटीले सीमाक्षेत्रका बासिन्दाको सुनौला दिन फेरिंदैछ’, मन्त्री भट्टराईले भने ।’

यसअघि प्रस्तावित बिमान स्थलको निरीक्षण गर्न चराङ पुगेका मन्त्री भट्टराईलाई स्थानीयबासीले भब्य स्वागत गरेका थिए । मन्त्री भट्टराईलाई उपल्लो मुस्ताङीले स्थानीय भेषभूषासहितको कपडा लगाई दिएका थिए ।

संघीय सांसद प्रेमप्रसाद तुलाचनले जिल्लाको पहलमा भएको प्रस्तावित विमानस्थलको निरीक्षणमा आएका मन्त्री भट्टराईको आगमनले विमानस्थल पक्कै बन्ने सम्भावना रहेको बताए ।

मन्त्री भट्टराई चराङ पुग्दा सांसद ईन्द्रधारा विष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्ट, स्थानीय जनप्रतिनिधि, आमा समूह, क्लवले मन्त्री भट्टराईलाई क्याल्साङ गरि स्वागत गरेका थिए ।

मन्त्री भट्टराई सोमबार नै हेलिबाट दामोदरकुण्ड र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन तथा निरीक्षण गरेको सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।
फोटो सौजन्य : टसी ढुन्टु ठकुरी, चराङ ।