मिस्टर नेपालको पोखरा अडिसन कार्तिक २५ गते

मिस्टर नेपालको पोखरा अडिसन कार्तिक २५ गते पोखरा । मिस्टर नेपाल २०१९ को पोखरा अडिसन आँउदो कार्तिक २५ गते हुने भएको छ ।

आयोजक एक्स्पोज नेपालले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी दिएको हो ।

अडिसन पोखराको सभागृहचोकमा रहेको मुग्लान रेष्टुरेन्टमा मध्यान्ह १२ बजेदेखि सुरु हुने प्रतियोगिताका पोखरा संयोजक आशिष पुरीले जानकारी दिए ।

प्रतियोगितामा १७ वर्ष देखि ३२ वर्ष सम्मका युवाहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

अडिसनका लागि रु एक हजार दर्ता शुल्क तोकिएको छ । कार्तिक २३ गतेदेखि प्रतियोगिताका अडिसनहरु काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, धनगढी, इटहरीलगायतका शहरहरुमा हुँदैछन् ।

पत्रकार सम्मेलनमा बोल्दै गएको संस्करणका विजेता विकल्पराज श्रेष्ठले प्रतियोगिताले व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए ।

प्रतियोगिता अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्नका लागि राम्रो अवसर बन्ने बताउँदै उनले अडिसनमा सहभागि हुन पोख्रेली युवाहरुलाई आह्वान गरेका छन् ।

प्रतियोगिताका विजेता र रनरअपले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने छन् ।