च्यांग्रा नपाएर च्यांग्री…

गत वर्ष सामान्य देखिएको हिमाली खसी–च्याङ्ग्राको मूल्य यस वर्षको दशैँमा अस्वाभाविक वृद्धि भयो । च्याङ्ग्राको मूल्य वृद्धिको विषयलाई लिएर उपभोक्तादेखि व्यवसायीसम्मले विभिन्न अड्कलबाजी गरे ।

गत वर्ष रु १ हजार २०० प्रतिकिलोमा च्याङ्ग्राको मासु बिक्री गरेका व्यवसायीहरू यस वर्षको दशैँमा रु एक हजार ३०० प्रतिकिलोका दरले बिक्री बितरण गरे ।

नेपाल सरकारले विगतका वर्षहरूमा भारतबाट आयात हुने गरेका खसीबोका रोक्ने घोषणा गरेपछि खसीबोका र हिमाली खसीको मूल्य आकासिएको आँकलन धेरैले गरेका थिए । तर दशैँ सकिएर तिहार लाग्दा साबिकको धौलागिरिका बजारमा हिमाली खसी–च्याङ्ग्राको अभाव भएको छ ।

दशैँका बेला बिक्री नभएका छिट्फुटबाहेक बागलुङ, पर्वत र म्याग्दीका सदरमुकाममा च्याङ्ग्रा देखिएका छैनन् । हिमाली जिल्लाहरूमा उत्पादन भएका च्याङ्ग्रा देशका ठूला शहरमा निर्यात भएको र उत्पादनसमेत कम रहेकाले दशैँमा नै मुस्ताङमा च्याङ्ग्राको सञ्चिति सकिएको घेकर दामोदरकुण्ड गाउँपालिका–५ का च्याङ्ग्रा व्यवसायी सोम गुरुङले बताए ।

‘अहिले पहिले–पहिलेको जस्तो धेरै च्याङ्ग्रा छैनन्’, बेनी बजारमा च्याङ्ग्री बेच्दै गरेका उनले भने, ‘मेरो गोठमा अहिले २ सय मात्रै च्याङ्ग्रा छन् ।’ ४ सयको बगालमा च्याङ्ग्रा–च्याङ्ग्री पालेका गुरुङले गत वर्षहरूमा जस्तो च्याङ्ग्रा बिक्री गर्न नपाएको बताए ।

बिचौलियाले मूल्य बढाएर बेचेको थाहा भएकाले च्याङ्ग्री बिक्रीका लागि आफँै बजार झरेको गुरुङले सुनाए ।

दशैँका बेला अत्यधिक च्याङ्ग्राको प्रयोग हुने भएकाले मुस्ताङका किसानले तिहारको समयमा च्याङ्ग्रीको व्यापार गर्ने गरेका छन् ।