कालीगण्डकीको स्टिमर सेवा पुनः सञ्चालनमा

वर्षायाममा बन्द भएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुनः शुरु भएको छ ।

बन्द भएको स्टिम सेवा आइतबारदेखि शुरु भएको हो । सहजरूपमा सञ्चालन गर्न सकिने भएपछि मङ्गलबारदेखि नियमितरूपमा सञ्चालनमा ल्याइएको शालिग्राम–कालीगण्डकी जलयातायात प्रालिका सचिव चन्द्रबहादुर रानाले जानकारी दिए ।

गत असार दोस्रो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाब बढेपछि दुर्घटना हुन सक्ने भएकाले साउन, भदौ र असोजमा सेवा बन्द गरेको सचिव रानाले बताए ।

उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७, मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म ७ किलोमिटरको दूरीमा १८ वर्षदेखि जलयातायात स्टिमर सेवा सञ्चालनमा छ ।

स्टिमर सेवाबाट दक्षिण पर्वतको विहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बागलुङका बासिन्दा लाभान्वित हुने गरेका विहादीका अध्यक्ष कमल भुसालले जानकारी दिए । स्टिमरबाट दैनिक एक हजारभन्दा बढीले नदी ओहोरदोहोर गर्ने गरेका भुसालले बताए ।

स्टिमरमा १ सय जना सवार गर्न मिल्ने १० वटा र १५ जन सवार गर्न मिल्ने माइक्रोस्टिमर २ सञ्चालन भइरहेका व्यावसायी हरिप्रसाद भट्टराईले जानकारी दिए ।

उनले दैनिक १ हजारभन्दा धेरै मानिसले स्टिमरमा यात्रा गर्ने गरेको बताए  । स्टिमर सेवा सञ्चालनपछि ४ घण्टाको यात्रा आधा घण्टामा छोटिएको भट्टराईको भनाइ छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वतको बिहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयवासीलाई सेवा शुरु भएपछि सहज बनाएको स्थानीयवासी विष्णु न्यौपानेले बताए ।

स्टिमर नचल्दा दशैँ मनाउन सास्ती खेपेका त्यस क्षेत्रका बासिन्दालाई तिहार मनाउन गाउँमा फर्कन सहज हुने भएको छ भने मालसामान ढुवानी गर्नसमेत सहज हुने न्यौपानेले जानकारी दिए ।

स्टिमर सेवा बन्द हुँदा साढे ३ महीनाभन्दा बढी त्यस क्षेत्रका बासिन्दा आधा घण्टाको बाटो ४ घण्टासम्म पैदल हिँडेर स्याङ्जाको गल्याङ पुग्न बाध्य भएका थिए ।

पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शनका लागि आउने धार्मिक पर्यटक र स्टिमर चढ्नकै लागि आउने पर्यटकसमेत वृद्धि हुने अपेक्षा गरिएको विहादी–६ शालिग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

काठका ठूला तथा मझौला डुङ्गामा मालवाहक गाडीको इञ्जिन जडान गरेर बनाइएका स्टिमर जलयातायातको साधन हो ।

ठूला मालवाहक गाडीजत्तिकै वहन क्षमता राख्ने हुँदा स्टिमर सेवा त्यस क्षेत्रका लागि बरदान नै सावित भएको थापाले बताए ।