ज्योतिषको भेषमा बालिका अपहरण गर्ने पक्राउ

बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास भएको छ ।ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेका प्रहरीले जनाएको छ।

बुबाआमा काममा गएको मौका पारी घरमा एक्लै खेल्दै गरेकी बालिकालाई नयाँ कपडा किनिदिने तथा एक हजार रुपैयाँ दिने प्रलोभनमा पारेर बुर्तिवाङतर्फ ल्याउँदै गरेको स्थानीयवासीले बताएपछि झिवाखोला प्रहरी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको संयुक्त टोलीले बालिका अपहरण गर्न खोज्न क्षेत्रीलाई पक्राउ गरेको हो ।

अपहरणमा परेकी बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ भने अपहरणमा लागेका ती व्यक्तिलाई विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ झिकाइएको प्रहरी उपरीक्षक नवराज भट्टले बताएका छन् ।