चुनावमा जुट्यो कास्की कांग्रेस, सभापति केसी पनि सक्रिय

नेपाली कांग्रेस कास्की आशन्न उपनिर्वाचन केन्दित कार्यक्रम, छलफल र भेलामा जुटेको छ । चुनावका लागि २ महिना अघि नै हाइकमाण्ड प्रतिनिधि छनोट गरी अघि बढ्को कांग्रेस यतिबेला छलफलमा जुटेको हो । यस बीचमा हाइकमाण्ड प्रतिनिधिले अनौपचारिक रुपमा जनतासंग भेटघाट गरी जनमत र जनआकांक्षा बुझ्ने काम गरेको थियो ।

साथै पार्टी सभापति कृष्ण केसी पनि सोमबारदेखि चुनावी अभियानमा सक्रिय भएका छन् । करिब १ महिनादेखि अस्वस्थ भएर कतै नहिंडेका केसी सोमबारदेखि सक्रिय भएका हुन् । उनी सोमबार नेपाली कांग्रेस वडा नं १७ ले आयोजना गरेको उपनिर्वाचन लक्षित विशेष बैठकमा सहभागी भए ।

उक्त बैठकमा सभापति केसीले पार्टीलाई जिताउन सबै तहबाट अग्रसर हुनुपर्नेमा जोड दिंदै जनताको पीडा र मर्का बुझ्ने गरी चुनावमा खटिन निर्देशन दिए ।

सभापति केसीले यो निर्वाचन कांग्रेसले जसरी पनि जित्नुपर्ने बताए । उनले कांग्रेसलाई विजयी बनाउन लागि आवश्यक तयारी थालिएको स्पष्ट पारे ।

‘वर्तमान सरकारको कार्यशैलीप्रति आम नागरिकको गुनासो बढिरहेका बेला यो उपनिर्वाचनमा कांग्रेसले जित्नु अपरिहार्य छ’, सभापति केसीले भने ।

पोखरा–१७ का सभापति देवराज आचायले निर्वाचन लक्षित कार्यक्रमलाई वडा नं १७ ले तीब्र गतिमा अगाडि बढाउने भन्दै एकजुट भएर लाग्न आग्रह गरे ।

राष्ट्रिय सभा सदस्य बिन्दा राना मगरले कांग्रेसले क्षेत्र नं २ मा विकास निर्माण लगायत यस क्षेत्रको समृद्धिका लागि पर्याप्त कार्य गरेता पनि प्रचार प्रसारको कमि भएका कारण कार्यप्रगति ओझेलमा परेको बताइन् ।

निर्वाचन जितेका स्व. रवीन्द्र अधिकारी एनसेल, वाईडबडी लगायतका काण्डले विवादित बनेसँगै वर्तमान सरकारप्रति जनताको असन्तुष्टिले कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो । यस पटक कुनै हालतमा पनि उपनिर्वाचन कांग्रेसले जितेरै छाड्ने उनको जोड थियो ।

नगर सदस्य विश्वमोहन पौडेलले यो उपनिर्वाचनलाई सौहार्दपूर्ण वातावरणमा परिणाममूखी ढंगबाट सम्पन्न गर्न पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य पुण्डरी प्रसाद बराल, यूवक लामिछाने, नम्रता बराल, नेपाली कांग्रेसकी नेतृ विमला भण्डारी, पूर्व जिल्ला सदस्य प्रेम परियारले यसपटकको उपनिर्वाचनको परिणाम नेपाली कांग्रेसको पक्षमा ल्याउनका लागि कुनै कसुर बाँकी नराख्ने बताए ।

बैठकमा इकाइ उपसभापति दिपेन्द्र बराल, सल्लाहकार रामप्रसाद श्रेष्ठ, क्षेत्रीय सदस्य ज्ञानेन्द्र पौडेल, किसान संघ कास्कीका सभापति विश्वराज आचार्य, निर्वतमान सभापति नारायण अधिकारी, वर्तमान सभापति नगेन्द्र भण्डारी, कमलकान्त उपाध्याय, नेपाली कांग्रेस नेतृ दुर्गा केसी, ईकाई सचिव डिआर भट्टराई लगायतले सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।