झलमानका गीत जापानमा गुञ्जने

पोखरेली कलाकार जापान जाने भएका छन् । जापानको कोमागाने सहरमा आयोजना हुने मिनाकोओ विश्व सांस्कृतिक महोत्सवमा सहभागी हुन ३ सदस्यीय टोली जाने भएको हो ।

कार्यक्रममा सहभागी हुन जाने टोलीलाई पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सोमबार बिदाइ गरे ।

टोलीमा सहभागी धनबहादुर गायक, विवेक गायक र प्रतिक थापालाई महानगर प्रमुख जिसीले माला लगाएर बिदाइ गरेका हुन् । जापानको कोमागाने सहरको सिटिजन्स एशोसिएशनको निमन्त्रणामा जान लागेको हो ।

कार्यक्रममा महानगर प्रमुख जिसीले नेपाली कला संस्कृतिको प्रचारसँगै पोखरा र कोमागानेबीच सांस्कृतिक आदानप्रदान हुने विश्वास व्यक्त गरे । उनले पोखरेली कलाकारहरूले सांस्कृतिक मार्फत सम्बन्धलाई थप मजबुत बनाउने बताए ।

‘२ सहरका नागरिक बीचको सम्बन्धलाई कार्यक्रमले थप मजबुत बनाउने विश्वास लिएको छु’, प्रमुख जिसीले भने, ‘पोखराको तर्फबाट कोमागानेका जनतालाई सम्झना सुनाइदिनुहोला र पोखराको प्रतिनिधित्व गरेर जाने कलाकारहरूले राम्रोसँग आफ्नो प्रस्तुति राख्नु होला ।’

टोली अक्टोबर २४ गते जापानको कोमागाने प्रस्थन गर्नेछ । कार्यक्रममा नेपाली लोक धुन र लोक गीतहरू प्रस्तुत गरिने टोलीमा सहभागी धनबहादुर गायकले बताए ।

उनले मादल, अबार्जा, सारंगी बजाएर झलकमान गन्र्धवका गीतसँगै कौडा गीत प्रस्तुत गर्ने योजना रहेको बताए ।

‘हाम्रा मौलिक बाजा र १२ नेपाली लोक गीतबाट पोखरा र नेपाल चिनाउने छांै’, उनले भने, ‘झलकमानको राधा पियारी, पानको पात, कहाँहोनी कौडा, कलिलो तामाले, मखमली चोली, सक्यौ नानी र तिहारको गीत प्रस्तुत गर्ने छौं ।’

सांस्कृतिक आदान प्रदान गर्ने उद्देश्यले कोमागाने सरहमा उक्त कार्यक्रम आयोजना गरिएको र महानगरको प्रतिनिधित्व गरेर ३ जना कलाकार जान लागेको पोखरा कोमागाने मैत्री एशोसिएशन पोखराका सचिव महेन्द्रबहादुर गोदारले जानकारी दिए ।