‘निदाएका बेला हटाइएको हिन्दूराष्ट्र फिर्ता गरेरै छाड्छौं’

विश्व हिन्दू महासंघ जिल्ला कार्यसमिति स्याङ्जाका नेताहरूले जनताले बनाएको संविधानमा हिन्दू राज्य नेपाली जनता निदाएका बेला हटाइएको आरोप लगाएका छन् ।

महासंघको १ महिना अघि निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीलाई सपथ हित पदस्थापनाका लागि आयोजना गरिएको कार्यक्रममा उनीहरूले नेपाली जनताले हिन्दू राज्यको माग गरिए पनि दलका नेताहरूले रातको समय पारेर जारी भएको संविधानमा हिन्दू राज्य हटाएर घोषणा गरेको आरोप लगाएका हुन् ।

नेपाली जनताको हित विपरीत हटाइएको हिन्दू राज्य कायम गर्न हाम्रो संघर्ष जारी रहने भन्दै उनीहरूले हिन्दू राज्य संविधानमा राख्न आग्रह गरे ।

‘हामी शालिन तवरले हिन्दू राज्य संविधानमा राख्न माग गरेका छौं’, महासंघका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुलीले भने, ‘शान्त रुपले गरिएको मागलाई सरकार र दलले नसुनेमा कडा संघर्ष गर्न पछि हट्ने छैनौं ।’ हिन्दूत्वले चिनिएको नेपाललाई विदेशी धर्म भित्र्याउने खेल मुलुकमा चल्दै आएको पराजुलीले बताए ।

पराजुलीले हामी सबैमा एकता नभएसम्म मुलुकमा हिन्दू राज्य घोषणा गर्न कठिनाई हुने बताए । सबैलाई मुलुकको चिनारीको रुपमा रहेको हिन्दू राज्य हटाउन दलका नेतालाई कसले अधिकार दियो भन्दै पराजुलीले संविधानमा हिन्दू राज्य लेखाउन सबै एक हुनुपर्ने आवश्यकता रहेको बताए ।

‘आचरण र व्यवहार पनि हामीले सुधानुपर्छ’, पराजुलीले भने, ‘आफ्नो धर्म संस्कृतिलाई बिर्संदै जाँदा विदेशीले धर्म भित्र्यााउने मौका पाए ।’

यस्ता विकृतिलाई गाउँ टोलमा आउन नदिन सबै हिन्दूत्वहरूले आआफ्नो भूमिका खेल्नुपर्ने उनले बताए ।

विभिन्न बाहना बनाएर विदेशी धर्म गाँउगाँउमा पुग्न थालेकोप्रति ध्यानाकर्षण गर्न कार्यक्रममा जोड दिइएको थियो ।

वालिङ नगर उपप्रमुख कल्पना तिवारीले नेपाली जनताले नचाहँदा नचाहँदै आएको धर्म निरपेक्षताले सबै नेपालीको चित्त दुखाएको बताइन् ।

‘हिन्दू धर्म हटेको हैन’, तिवारीले भनिन्, ‘आफ्नो धर्मलाई ओझेलमा पर्न नदिन सबैले भूमिका खेल्न आवश्यक छ ।’ हाम्रो सोंचलाई बलियो बनाएर अघि बढ्न तिवारीको आग्रह थियो ।

हामीले मान्दै आएको संस्कृतिको जर्गेना र बचाउन विश्व हिन्दू महासंघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास तिवारीको थियो ।

महासंघका वालिङ नगर समितिका नवनिर्वाचित अध्यक्ष सीताराम अधिकारीले नगर मात्रै नभएर ११ वटैै स्थानीयतहमा विश्व हिन्दू महासंघ गठन गरी संस्कृति र संस्कार बचाउन भूमिका खेल्ने बताए ।

विश्व हिन्दू महासंघ जिल्ला अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष जगदिश गैह्रे र संचालन सचिव पदमप्रसाद पाण्डेले गरेका थिए ।