पोखरा रंगशालाको फुटवल मैदान अनुगमन

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री एवं १३ औं साग पोखराका स्थानीय ब्यवस्थापन तथा सहजीकरण समितिका संयोजक नरदेवी पुन र गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक दीपक कोइरालाले निर्माणाधिन फुटवल मैदानको निरीक्षण गरेका छन् । उनीहरूले क्रिकेट मैदान, बहुउद्देश्यीय कर्भड हल लगायतको निरीक्षण गरेका थिए ।

मन्त्री पुनले मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३ औं साग भौतिक पूर्वाधारको कारण कुनै पनि हालतमा प्रभावित हुन नहुने भन्दै समस्या भए आफूहरू समाधानको लागि तयार रहेको बताइन् ।

सांसद एवं अनुगमन तथा मुल्याङ्कंन समितिका संयोजक दीपक कोइराला (रुपक)आ आफ्नो जिम्मेवारी अनुसार सबैले काम गरेर पोखरामा हुने ९ वटै खेललाई सानदार रुपमा सफल बनाउनु पर्नेमा जोड दिए ।

आफूहरूले अनुगमन र मुल्याङकनलाई प्राथामिकतामा राखेर पूर्वाधार निर्माणमा सहजीकरण गर्दे निर्धारित समयमै सम्पन्न गर्नका लागि भूमिका खेल्ने बताए ।

स्थल व्ययवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले आफु दैनिक रंगशाला आएर फुटबल मैदानको निगरानी गर्ने गरेको बताए ।

पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट मेनेजर दीपक बरालले जानकारी दिए ।

उनका अनुसार पूर्वाधारको काम ५० प्रतिशत सकिएको छ । १३ औं सागमा कुल २७ खेल हुने भए पनि पोखरामा ९ वटा खेल हुनेछ ।

पोखरामा हुने खेलहरूमा महिला फुटवल, क्रिकेट महिला, आर्चरी, ब्याडमिन्टन ह्याण्डबल, प्याराग्लाइडिङ, ट्रायथलन, विच भलिवल र भारोत्तोलनका खेल हुनेछ ।