म्याग्दीमा पिसाब बेचेर पैसा कमाउने अनौठो अभियान शुरु

म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका अपनाएको हो ।

यसअघि गाईभैँसी तथा कुखुरा र भेडाबाख्राको मलमूत्रबाट तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेका हुन् । गाउँपालिकाको वडा नं ५ अर्मनको शिशु कल्याण माविमा विगत दुई वर्षदेखि शौचालयमा जर्किन राखेर विद्यार्थीले सोही जर्किनमा पिसाब गर्ने र त्यसलाई बिक्री गरी आयआर्जन गर्ने गरिएको छ ।

त्यहाँका किसान पनि मानव मूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न जुटेका छन् । म्याग्दीमा नै पहिलोपटक मङ्गला गाउँपालिका–५ का किसानले मानव मूत्रको प्रयोग गरी खेती गर्न थालेका हुन् । बजारमा पाइने रासायनिक मलभन्दा मानव मूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेको बताएका छन् । शिशु कल्याण मावि अर्मनका प्रधानाध्यापक चित्रबहादुर बुढाथोकीले विद्यालयले अहिलेसम्म ३१ जर्किन मानव मूत्र बिक्री गरिसकेको र मानव मूत्र विशेषगरी सुन्तलाखेती र मकै बालीका लागि अत्यन्त उपयोगी हुने बताएका छन् ।

मङ्गला गाउँपालिकाले प्राङ्गारिक खेतीलाई विशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाले विद्यालय र सार्वजनिक स्थानमा मानव मूत्र सङ्कलनका लागि प्लाष्टिकको ग्यालिन राखेको छ । शौचालयमा मूत्र विर्सजन गर्नुका साटो स्थानीय र बटुवाले समेत जर्किन मा गर्ने गरेका मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका बताउछन् ।