प्रेस युनियनलाई अक्षयकोष रकम हस्तान्तरण

पूर्णप्रसाद बराल मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारको अक्षयकोष रकम मंगलबार एक कार्यक्रमका बीच नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको छ ।

पूर्णप्रसाद बराल, स्व. मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पतीका छोरा समाजसेवी, धार्मिक ब्यक्तित्व धर्मराज बराल भोलाले अक्षयकोष रकमको चेक युनियन कास्कीका अध्यक्ष नविन सिग्देल र कोषाध्यक्ष विजय लम्साललाई हस्तान्तरण गरेका हुन् । अक्षयकोषको रकम ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष बरालले धर्म संस्कृतिका बिषयमा कलम चलाउने श्रमजीवी पत्रकारलाई प्रोत्साहन स्वरुप आफ्नो परिवारले पुरस्कारको स्थापना गरेको बताए ।

मंगलबार नै बरालकी आमा मायादेवी बरालको वार्षिक पुन्य तिथि परेको र वार्षिकी कार्यक्रममै रकम हस्तान्तरण गरेका उनले आगामी दिनमा अक्षयकोषको रकम बढाएर ५ लाख पुर्याउने घोषणा समेत गरेका छन् ।

पूर्णप्रसाद, स्व. मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार प्रत्येक वर्ष शान्ति, अध्यात्मिक तथा धर्मसंस्कारका क्षेत्रमा कलम चलाउने १ जना पत्रकारलाई प्रदान गरिनेछ ।

गत वर्ष पत्रकार राजबहादुर गुरुङलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र सहित पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष बरालले जानकारी दिए ।

युनियनका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रबिना आले, कार्यक्रम सञ्चालन उपाध्यक्ष प्रकाशचन्द्र साप्कोटाले गरेका थिए ।