ताजा समाचार

असाेज २५ गते २०७६

मुक्तिनाथ देखि कोरला सम्म पर्यटक ,मुस्ताङका होटल भरिभराउ

मुक्तिनाथ आएका पर्यटक कोरला सम्म
एसके थकाली
मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा यसवर्ष पनि दशैं सकिए लगत्तै आन्तरिक पर्यटकको घुईचो लागेको छ । बडा दशैं–तिहार ,नेपाल संम्वत तथा छडपर्वको अवसरमा घर विदामा फर्किएका नेपालीहरु कोरलानाका हेर्न ओईरिएका हुन् ।


मुस्ताङ र म्याग्दीको सीमाक्षेत्र स्थित घासा प्रहरी चौकीले दिएको जानकारी अनुसार दशैं पर्वको पछिल्लो दिन पछि शुक्रवार सम्ममा करिव ६ हजार पर्यटक मुस्ताङ भित्रिएको जनाईएको छ । घासां प्रहरी चौकीका ईञ्चार्ज नीमप्रसाद तिमिल्सिनाका अनुसार मुस्ताङ भित्रिने पर्यटकमा अधिकाँश स्वदेशी रहेका छन् ।


पछिल्लो २४ घण्टामा आन्तरिक पर्यटक २३ सय ५६ ,सार्क राष्ट्रका पर्यटक १ सय १५ र विदेशी पर्यटक १८ रहेको ईञ्चार्ज तिमिल्सिनाले बताए । यस्तै, दशैं लगत्तैको पछिल्लो २४ घण्टामा म्याग्दी हुँदै मुस्ताङमा ६ सय ५२ सवारी साधन भित्रिएका छन् । जसमा ३ सय ४१ मोटर साईकल ,बस १७,ट्रक १३ ,जीप १ सय ९० ट््याक्टर ३ ट््याक्सी २,पर्यटकीय जीप ८० र पर्यटकीय मोटरसाईकल ६ वटा रहेको प्रहरी चौकी घाँसाले जनाएको छ । शुक्रबार सम्म यसको दोब्बर सवारी भित्रिएको हो ।
दशैं लगत्तै युवा पुस्ताको मुख्य रोजाई बनेको हिमालपारी मुस्ताङमा पर्यटकीय चाप संगै यहाँका साना ठुलै सबै होटल तथा रेष्टुरेन्ट भरिभराउ छ । नेपालीहरुको मुख्य चाडपर्वको लामो बिदामा बसेका कर्मचारी,विदेशबाट नेपाल फर्किएका नेपाली ,विद्यालय र कलेजमा पढ्ने विद्यार्थी र बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी ,व्यवसायी र पेशाकर्मीहरु मुस्ताङ ओईरिएका हुन् ।

मुस्ताङ भ्रमण गर्न आउने अधिकाँश युवापुस्ता रहेको प्रहरी ईञ्चार्ज नीमप्रसाद तिमिल्सिनाले बताए । पछिल्लो समय सामाजिक संञ्जाल प्रयोगकर्ता अत्यधिक बढेकाले पनि नेपाली पर्यटकमा घुमफिरको प्रभाव बढेको ईञ्चार्ज तिमिल्सिनाको भनाई छ । दशै पछि युवा पुस्ताको मुस्ताङ आगमन बढेको बताए ।


बुधबार देखि सदरमुकाम जोमसोम लगायत बेनी–जोमसोम–कोरला सडकमा संञ्चालित सबै होटलहरु पर्यटकले भरिएको एयरपोर्ट स्थित होटल ताजकी संञ्चालिका तृष्णा गौचन शेरचनले जानकारी दिईन् । उनका अनुसार अक्सर दशैपछि युवापुस्तामा मुस्ताङ घुमफिरको केन्द्र बनेको उल्लेख गरिन् ।
यस्तै, पोखरा देखि जोमसोम सम्म हवाई पर्यटक समेत बृद्धि भएको जोमसोम नागरिक उड््यन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असोज लगत्तै यहा संञ्चालन भएका समीट तथा तारा एयरलाईन्सले दैनिक १० वटा उडान समेत गरेको कार्यालय प्रमुख दिपक विकले जानकारी दिए । हवाई सेवा मार्फत मुस्ताङ आउनेमा भारतिय र विदेशी पर्यटक रहेको उनले बताए ।


भारतिय नाकाबन्दी पछि चर्चाको शिखरमा चुलिएको मुस्ताङको उत्तरी कोरलानाका अवलोकन गर्न आन्तरिक पर्यटक कोरलानाका सम्म पुग्ने गरेको पाईएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सडक स्तरोन्नति गरेकाले उपल्लो मुस्ताङ पुग्न सहज भएको हो । उपल्लो मुस्ताङको फरक भुगोल ,प्राचिन गुम्बा अनि गुफाहरु र ऐतिहासिक तथा धार्मिक कला संस्कृतिका कारण उपल्लो मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ ।

यस्तै ,हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि मुक्तिक्षेत्रको चर्चा अन्तराष्ट्रिय स्तरमा चुलिएको हो । यस्तै मुस्ताङमा सडक संञ्जाल जोडिए संगै फिल्म छायाङ्कनको क्रम समेत बढेको छ । तल्लो मुस्ताङ देखि उपल्लो मुस्ताङ सम्म २ दर्जन नेपाली चलचित्रको छायाङ्कन भईसकेको छ । चलचित्रको माध्यम र मुस्ताङ भ्रमण गरी फर्किएका पर्यटकले पर्यटन प्रर्वद्धनमा सघाउ पु¥याएपछि यहाको पर्यटन व्यवसाय बृद्धि भएको हो । मुस्ताङको परिवेशलाई समेट्दै दर्जनौ डकुमेन्टी फिल्म बनिसकेका छन् ।


धार्मिक किंवदन्ती अनुसार वारागुङ मुक्तिक्षेत्र गाउपालिकाको मुक्तिनाथ र कागबेनी श्राद्ध स्थल प्रसिद्ध छ । मुक्तिनाथको दर्शन तथा कोरलानाका अवलोकन गर्न आउने पर्यटकहरुले घरपझोङ –५ स्थित ढुम्बाताल जान छुटाउदैन । मुस्ताङको मनोरम प्राकृतिक सुन्दरता संग रमाउन र तस्विर खिचाउन पर्यटक लालायित हुने गर्छन् । यस समय मुस्ताङका स्याउ बगानमा स्याउ फलेका दृष्य समेत देख्न पाईन्छ ।
ढुम्बाताल संगै थासाङमा रहेको सेकुङ र टिटी ताल हेर्न उल्लेख्य रुपमा पर्यटक पुग्ने गरेको पाईएको छ ।


Loading...