ताजा समाचार

असाेज २० गते २०७६

नून, चिनी र मैदाले हृदयघात बढाउन सक्छ, सतर्क बनौं

जाडो याम नजिक आउँदैछ । यो मौसममा मुटुरोगका विरामीले विशेष ध्यान दिनु आवश्यक हुन्छ । मुटुरोगको खतरा वास्तवमा गलत जीवनशैलीका कारण हुने गर्छ । ब्लडप्रेसर बढ्नु, मुटुको चाल बढ्नु या घट्नुले हृदयरोगको प्रारम्भिक संकेत हो ।

तपाईंले यदि समयमै सावधानी अपनाउनु भएन भने भविष्यमा हर्ट एट्याक, कार्डियाक अरेस्ट, हार्ट फेलियर तथा स्ट्रोकजस्ता गम्भीर अवस्था उत्पन्न हुन सक्छ । 

हृदयरोगका विशेषज्ञहरुका अनुसार खानेकुरामा नूनको बढी प्रयोग हानिकारक हुन्छ । नूनलाई केवल स्वाद लिनका लागि प्रयोग गर्नुपर्छ ।

साथै, प्याकेट बन्द खानेकुराको प्रयोग पनि कम गर्नुपर्छ । ज्यादा चिनीको प्रयोग पनि हृदयरोगका लागि हानिकारक हुन्छ । यसले धमनीलाई खुम्चाइदिन सक्छ । 

मुटुरोगीले चिनी कमभन्दा कम प्रयोग गर्नुपर्छ । सेतो चिनी (रिफाइन्ड सुगर) मुटुरोगीका लागि हानिकारक हुन सक्छ । चिनीले रक्तप्रवाह हुने नलीलाई खुम्चाइदिने सम्भावना हुन्छ । नली खुम्चन जाँदा विरामीलाई हार्ट एट्याकको खतरा बढ्न सक्छ । 

बढी नून हानिकारक

अधिक नून पनि हृदयरोगीका निम्ति हानिकारक हुन सक्छ । यसले ब्लडप्रेसर बढाइदिन्छ । नतिजामा हार्ट फेलियर तथा हार्ट एट्याकको खतरा बढ्न सक्छ । अधिक नून सेवनले शरीरमा ‘वाटर रिटेन्सन’ बढाइदिन्छ, जसले मिर्गौला खराब पार्न सक्छ । 

मैदा पनि हानिकारक

रिफाइन्ड फ्लोर (मैदा पिठो) उसै पनि स्वास्थ्यका लागि हानिकारक छ । त्यसमाथि मुटुरोगीका निम्ति त यो बढी हानिकारक हुने गर्छ । मैदाको अधिक प्रयोगले शरीरमा कोलेस्टोरोलको मात्रा बढाइदिन्छ । कोलेस्टोरोल एक प्रकारको फ्याट हो ।

बढ्न गएको फ्याट शरीरका अङ्गहरुमा रगत प्रवाह गर्ने नलीको बाटोमा जम्मा भएर बसिदिन्छ । यसले नली ब्लक हुन सक्छ । धमनी बन्द हुनाले मुटुमा रक्त सञ्चार हुन पाउँदैन र हार्ट एट्याक हुन सक्ने अवस्था निम्तन सक्छ ।-एजेन्सी


Loading...