औलागाउँमा चितुवाको यस्तो आतंक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलागाउँमा चितुवाले आतङ्क मच्चाएको छ ।

चितुवाको आक्रमणबाट १ हप्तायता ४ बाख्रा, २ कुकुर र २० कुखुरा मरेका छन् । दैनिक जसो रातिको समयमा गाउँमा चितुवा आउने गर्छ ।

चितुवाको आक्रमणबाट पशुपक्षी मर्ने क्रम बढेपछि औलाका बासिन्दा त्रसित भएको स्थानीयवासी यामप्रसाद पुर्जाले बताए ।

चितवाले टीका घताने र धनकुमार विकको खोरबाट २ / २ बाख्रा र २ कुकुर मारेको छ । सन्देश रञ्तिजाको १४ र यामप्रसाद रञ्तिजाले पालेका ६ कुखुरा खोरभित्रै मारेको छ ।

चितवाको आक्रमणको डरले स्थानीयवासी समसाँझै घरभित्र ढोका थुनेर बस्न थालेका छन् । घरबाहिरको शौचालय जानलाई समेत त्रास भएको छ ।

बाख्रा कुखुराको खोर मर्मत गरेका छन् । मानिसलाई समेत आक्रमण गर्ने खतरा बढेपछि गाउँलेले सतर्कता अपनाएका छन् ।

एक्लै हिँडडुल नगर्ने, रातिको समयमा घर बाहिर ननिस्कने, कुखुरा, बाख्रालाई सुरक्षित ठाउँमा सारेका छन् । जङ्गलमा आहरा पाउन छाडेपछि चितुवा गाउँ पस्ने गरेको बताइएको छ ।